विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट अलग


काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको छ । २०८० सालमा चार कम्युनिस्ट पार्टी मिलेर बनेको समाजवादी मोर्चाबाट नेकपा अलग भएको हो ।

नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै भनेका छन्,“आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निस्कर्ष छ । सोही निस्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौँ ।”

राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजिविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्वपूर्ण कार्यक्रम गरे पनि जुन रफ्तारमा कामहरू बढाउनु पर्ने थियो त्यो नबनेको महासचिव विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

अहिलेकै अवस्थामा मोर्चाको औचित्य समाप्त भएको नेकपाको निषकर्ष छ ।

विज्ञप्तिमा भनिएको छ,“जेन–जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरुमै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चाबन्दिमा सहभागि बन्दै छन् । व्यापक स्तरमा नयाँ बहसहरु आवश्यक बनेका छन् र बढि पनि सकेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकतागरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निस्कर्ष छ ।”

समाजवादी मोर्चामा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी थिए ।

अन्य तीन दल नेपाली कम्युनिस्ट पार्टीमा समावेश भएपछि नेकपा मोर्चाबाट बाहिरिएको हो ।