इप्पान अध्यक्ष कार्की भन्छन्ः १० महिना भइसक्यो, वनमा छिर्न पाइँदैन, कसरी आयोजना पूरा गर्ने ?


काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बनाएको नीतिगत अवरोधका कारण जलविद्युत आयोजनाहरू निर्माणमा समस्या भएको बताएका छन् ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । अध्यक्ष कार्कीले १० महिनादखि रुख काट्नको लागि वनमा छिर्न नपाइएको गुनासो गरे। २०७७ सालमै आयोजना सम्बन्धी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न भएपनि अहिलेसम्म रुख काट्न र आयोजना क्षेत्रमा प्रवेश गर्न नपाइएको बताए ।

यस्तो अवस्थामा कसरी उत्पादन गर्ने ? उनले प्रश्न गरे। उनकाअनुसार सरकारले उत्पादकहरूसँग निर्धारित समयभित्र बिजुली उत्पादन नगरे सम्झौता रद्ध गर्नेगरी सम्झौता गरेको छ । सरकारले तोकिएको समयमा उत्पादन नभए किन्दिन भन्ने गरेको भन्दै योजनाअनुसार आफूहरु अघि बढ्न नपाएको बताए ।

अध्यक्ष कार्कीले ऊर्जामन्त्री तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसँग पनि समस्या समाधानका लागि पटक–पटक छलफल भएको बताए । उनले आरसियुडीका मुद्दाहरुहरूमा दुई वर्षको समय थप गर्न अनुरोध गरेको पनि तीन वर्षभन्दा बढी भइसकेको बताए ।

सरकार परिवर्तन भइरहँदा नीतिमा पनि अस्थिरता भएकोले लगानीकर्ता अन्योलमा परेको उनको भनाइ छ । उनले सरकार परिवर्तन भएपनि नीति परिवर्तन नुहनेगरी स्थायित्व खोज्नुपर्नेमा जोड दिए। उनले जलविद्युत आयोजनाका लगानीकर्ताले ३०–३५ वर्षको लगानीमा स्थायित्व चाहने उल्लेख गरे । हाल नेपाली लगानीकर्ता नै अन्योलमा हुँदा विदेशी लगानीकर्ताले नेपालमा लगानी नगर्ने बताए । 

उनले सरकारले नेपाली लगानीकर्तालाई मनोबल उठाउने खालको काम गर्नुपर्ने बताए । उनले नेपालमा बिजुली खपत बढाउन र ट्रान्समिसन लाइन बनाउन सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे ।