रेशम चौधरीकाे गुनासाे, ‘राज्यले टिकापुर विद्रोहलाई मात्रै अपराधिक बनायो’


काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपा, नेपाल)का संरक्षक रेशमलाल चौधरीले देशका सबै आन्दोलनहरूलाई सरकारले राजनीतिक रूपमा हेरेपनि टिकापुर आन्दोलनलाई भने अपराधको रूप दिएको आरोप लगाएका छन् । 

बुधवार निर्वाचन आयोगले नाउपा, नेपाललाई दल दर्ताको प्रमाणपत्र दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै चाैधरीले यस्तो आरोप लगाएका हुन्। जेनजी आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकमी दुवै मारिएको उल्लेख गर्दै त्यस आन्दोलनलाई पनि राजनीतिक रूपमा सम्बोधन गरिएको बताए। तर टिकापुर विद्रोहलाई राज्यले अपराधको रूपमा लिएको र यो नै निरकुंशताको प्रतिक भएको उनकाे भनाइ छ ।

उनले टिकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा मान्यता दिन र सो आन्दोलनमा संलग्न सबै कैदी र फरार अभियुक्तहरूको मुद्दा फिर्ता गर्न मागसमेत राखेका छन् । चाैधरीका अनुसार सो घटनामा संलग्न करिब ३० जना अझै पनि फरारको सूचीमा छन् भने तीन सयभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गरिएको छ ।

हामीले राज्य संचालकहरुलाई भन्दै आएको कुरा के हो त भन्दाखेरी तपाईहरुले विभेद गर्नुभयो, तपाईहरुले अन्याय गर्नुभयो, उनले भने हरेक आन्दोलन राजनैतिक भए, हरेक आन्दोलनलाई यो देशले राजनैतिक बनायो, भर्खरै जेनजीको आन्दोलनलाई पनि राजनैतिक बनायो, ७७ जना मान्छे मरे, शहीद भए र यसमा सुरक्षाकर्मी पनि मरे ।

उनले आगामी निर्वाचनमा नाउपा, नेपालले कमैया, दलित, मुक्तकमलरी, सुनार, जनजाती र मुस्लिमका युवाहरु र एकल महिलाहरुलाई संसदमा पु¥याउने बताए । पार्टीकाे सिद्धान्त समुदायमा आधारित समाजवाद हुने उनको भनाई छ ।