ओलीलक्षित माधव नेपालकाे ब्याङ्ग्य: कतिपयको होस हवास उडेको छ


काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरुको एकताका कारण नेकपा एमालेका सातो गएको टिप्पणी गर्नुभएको छ । 

बुधवार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको टिप्पणी गरेका हुन् । एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गालीगलौजमा उत्रिन आवश्यक नरहेको बताएका छन् ।

“एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गर्दै कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको हुनुपर्छ, होस हवास गुमेको हुनुपर्छ,” नेपालले भने, “होस गुमाउन, गाली गलौजमा उत्रिनुपर्ने आवश्यकता छैन बरु हामीलाई धन्यवाद दिनुहोस् । मैले त बिगारेँ, तपाईंहरुले सपार्दै हुनुहुन्छ भनेर । धन्यवाद प्रस्ताव पास गर्नुस् । धन्यवाद प्रस्ताव पास गर्नुभयो भने हाम्रो घाउमा मल्हमको काम गर्नेछ ।”

उहाँले कार्यक्रममा एकता गरेकोमा मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरुलाई धन्यवाद दिनुभयो । एकता अभियानप्रति गौरववोध गर्नुपर्ने बताउनु भयो ।