काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशभर दल दर्ताका लागि चहलपहल तीव्र बन्दै गएको छ । निर्वाचन आयोगका अनुसार अहिले ३२ वटा दल दर्ता प्रक्रियामा रहेका छन् ।
तीमध्ये २३ वटा दल जेन–जी आन्दोलनपछि गठन भई दर्ता हुन आएका नयाँ दल हुन् भने ९ वटा पुराना दल रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार केही दल दर्ता भइसकेका छन् भने दल दर्ताको अधिकारिता पाउने दलको संख्या अहिले १२६ पुगेको छ।
दर्ता प्रक्रियामा रहेका दलमध्ये महत्वपूर्ण नाममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधव नेपाल सह–संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’को कम्युनिस्ट पार्टी नेपाल, अनुपकुमार उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी लगायत छन्।
त्यस्तै राष्ट्रिय जेन–जी पार्टी (हिराप्रसाद सोती), हाम्रो पार्टी नेपाल (खगेन्द्र सुनार), नवयुग पार्टी (नवराज सुवेदी), राष्ट्रिय परिवर्तन पार्टी (अजयकुमार राई) र नेपाल लिबरल पार्टी (गोपीलाल न्यौपाने) को दर्ता निवेदन पनि आयोगमा परेका छन्।
यस्तै, हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी, सबिन सिग्देलको राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता पार्टी नेपाल, रियाज अहमद शेषको राष्ट्रिय स्वराज पार्टी र राजकुमार कक्षपतीको नेकपा (वामपन्थी केन्द्र) को निवेदन आयोगले अध्ययन गरिरहेको छ।
यसैगरी सुन्दर राम बोहराको आवाज पार्टी, गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी, माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल, अकबर खानको राष्ट्र निर्माण दल नेपाल, रमनकुमार कर्णको जनादेश पार्टी नेपाल र प्रशान्त सिंहको पिपुल फस्ट पार्टी पनि दर्ताका लागि अघि सरेका छन्।
सन्दिप उप्रेतीको राष्ट्रिय स्वाभिमान पार्टी नेपाल र अशोककुमार यादवको जनता लोकतान्त्रिक पार्टी नेपाल दर्ताका लागि आयोग पुगेका छन्।
आयोगका अनुसार हर्क साम्पाङको श्रम संस्कृति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी (नेपाल जनमुक्ति पार्टीबाट फुटेको), वीरेन्द्र बस्नेतको गतिशील लोकतान्त्रिक पार्टी तथा कबिर सोप अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल भने दर्ता भइसकेका छन्।
निर्वाचन आयोगले जारी गरेको तालिका अनुसार कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिनुपर्ने छ। आगामी मंसिर १ देखि १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन सकिनेछ। आयोगले फागुन २१ गते निर्वाचन मिति तोकेको छ।
दल दर्ता बढ्दै गएसँगै आगामी चुनावमा नयाँ राजनीतिक समीकरण र वैकल्पिक शक्तिको प्रतिस्पर्धा तीव्र हुने संकेत देखिन थालेको छ।



प्रतिक्रिया दिनुहोस्