काठमाडौं । पूर्वमन्त्री तथा नेता घनश्याम भुसालले आगामी प्रतिनिधि सभा निर्वाचन रोक्ने वा सार्ने प्रयास भइरहेको राजनीतिक बहसबीच नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘एकमात्र वाधक’का रूपमा प्रस्तुत गरेका छन् ।
भुसालले अन्तरिम सरकारले तोकेको फागुन २१ गतेको निर्वाचन कुनै कारणले रोकिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै जेन–जी आन्दोलनपछि तत्कालीन सरकार र संसद विघटन भई सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको बताए ।
अन्तरिम सरकारले निर्धारण गरेको निर्वाचन मिति नजिकिँदै जाँदा केही दलले सरकारले निर्वाचनको वातावरण बनाउन सकेन भन्ने आरोप लगाइरहेका छन्। एमालेले संसद पुनःस्थापनाको एजेण्डा अघि सारेको छ भने नेपाली काँग्रेसभित्र पनि विभाजित धारणा देखिएको भुसालको बुझाइ छ। तर अन्य अधिकांश दल आगामी निर्वाचनमा जान तयार भएको उनको विश्लेषण छ।
भुसालले आफूहरु नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चुनावमा जाने स्पष्ट गर्दै आफूहरुको पहिल्यै दर्ता भएको दलमार्फत एजेन्डासहित प्रस्तुत हुने बताए
उनले भने, “हामीसँग अलरेडी पार्टी छँदैछ। आउने चुनावमा राम्ररी एजेन्डासहित फेस गर्छौँ। हामी विप्लवजीहरुसहित चुनावमा जान्छौँ।”
निर्वाचनमा रोकावट सिर्जना गर्ने सम्भावित शक्ति एक जना ओलीमा सीमित रहेको छ भुसालले भने, “चुनावका लागि ओलीजी मात्रै वाधक हो। अरु कुनै कुराले चुनाव रोकिँदैन। सबैले प्रचार–प्रसार गरिसकेपछि ओलीजी पनि लतारिनु बाहेक विकल्प हुँदैन।”
उनले ओली सहजै चुनावमा नआउने तर राजनीतिक दबाब र नागरिकभावनाले अन्ततः उहाँलाई मैदानमा उत्रिन बाध्य पार्ने दाबी गरे
“ओलीजीले अहिले जुन ट्याउट्याउ गर्नुभएको छ, उहाँ सम्भवतः चुनावमा त्यत्तिकै आउनुहुन्न। तर मुलुकको राजनीति, समाज र नागरिकहरुले ओलीजीलाई लतार्नेछन् ” भुसालले भने ।
उनका अनुसार सरकारको तयारी र राजनीतिक वातावरण दुवै तर्फबाट चुनाव सार्नुपर्ने वा नहुनुपर्ने कुनै कारण छैन। तात्कालिक प्राविधिक कारण बाहेक अन्य कुनै पनि बहानाले निर्वाचन रोक्न नसक्ने भुसालको दाबी छ।
आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक वाद–विवाद आइरहेका बेला भुसालको अभिव्यक्तिले नयाँ तरंग ल्याएको छ।



प्रतिक्रिया दिनुहोस्