सोलुखुम्बु। सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्कीलाई शनिबार अचानक काठमाडौँ झर्नुपर्ने बाध्यता पर्याे। अत्यावश्यक काम परेपछि उनले विमान टिकटका लागि फाप्लुस्थित नेपाल एयरलाइन्सको कार्यालयमा फोन गरे, तर जवाफ सधैंझैं एउटै उत्तर आयाे ‘टिकट छैन’ ।
यही छोटो वाक्यले कार्कीको मात्रै होइन, अहिले समग्र तल्लो सोलुखुम्बुका सर्वसाधारणको वास्तविक अवस्था उजागर गरेको छ । कार्कीजस्तै धेरैलाई अत्यावश्यक काम परे पनि ‘सामान्य’ फोन, सामान्य शैली, सामान्य नागरिकको हैसियतमा जहाजको टिकट पाउछ भन्ने विश्वास समेत गुमिसकेको छ । अन्ततः कार्की काठमाडौँ जान सडकमार्ग नै रोज्न बाध्य भए ।
“यो घटना व्यक्तिगत पीडा मात्र होइन, सोलुखुम्बुमा विमान सेवा कति अव्यवस्थित, कति पहुँचवाला व्यक्तिको कब्जामा र कति सर्वसाधारणविरोधी बनिरहेको छ भन्ने कठोर यथार्थ हो,” सल्लेरीका रश्विन मगरले भने ।
अहिले फाप्लु–काठमाडौँ उडान चार दिन मात्रै, त्यो पनि ‘चिनजान’वाला यात्रुका लागि मात्र उपलब्ध हुने जनाइएकाे छ । फाप्लु विमानस्थलमा अहिले हप्तामा नेपाल वायुसेवा कम्पनीले चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) उडान भर्दै आएको छ।
निजी क्षेत्रका विमान कम्पनीहरूले व्यस्तता र अनुकुलता देखाउँदै फाप्लु–काठमाडौँ उडान तालिका हटाएपछि सोलुखुम्बुवासी नेपाल एयरलाइन्सकै भर पर्नुपर्ने बाध्यतामा छन् । तर समस्यानै त्यहीँदेखि सुरू हुन्छ ।
नेपाल एयरलाइन्सको एकाधिकारजस्तै भएको यस मार्गमा सर्वसाधारणको पहुँच झन्–झन् सिमित हुँदै गएको छ। फोन गर्दा सुरूमै आउने उत्तर हाे उत्तर टिकट सकिसक्यो, सिट खाली छैन, अघिल्लो हप्तादेखि नै बुकिङ छ । तर यही एयरलाइन्सले ‘माथिबाट सिफारिस आएपछि भने तुरुन्तै टिकट व्यवस्था गरिदिने सर्वसाधारणको तितो अनुभव छ।
सल्लेरीका व्यवसायी महेश अधिकारी भन्छन्, “सामान्य मानिसले टिकट माग्यो भने ‘छैन’ भन्छन्, तर ठूला मान्छेले फोन गरेपछि तुरुन्तै टिकट निकालिदिन्छन्। फाप्लुमा अहिले पावर नलागाई एयरलाइन्सको टिकट पाउनु लगभग असम्भवजस्तै भएको छ।”
सोलुकै सन्देश राईको अनुभव झन् कठोर छ “काठमाडौँबाट सोलु आउँदा त्यति समस्या छैन। तर सोलुबाट काठमाडौँ जाँदा टिकट पाउनु भनेको फलामको चिउरा चपाए सरह हो।”
विदेशी पर्यटकहरू काठमाडौँ फर्कने भएकाले उनीहरूलाई प्राथमिकतामा राख्नुपर्छ। त्यसैले सामान्य यात्रुलाई सिट दिन समस्या हुने नेपाल एयरलाइन्स फाप्लुका स्टेशन इन्चार्ज तेन्जी शेर्पा बताउँछन् । तर स्थानीयबासीहरु वास्तविकता स्टेशन इन्चार्जले भनेको भन्दा फरक रहेको दाबी गर्छन् । उनीहरुको साझा गुनासो छ कि, “यदि फाप्लुबाट विमान चढ्नुपर्छ भने टिकटभन्दा पहिला ‘पावर’ र पहुँचवाला आफन्त गुहार्नुपर्छ।”
सोलुखुम्बुबाट सजिलोसँग हवाई टिकट नपाएको गुनासो काठमाडौँको ट्राभल एजेन्सीमा समेत आउने गरेको छ । एजेन्सीका एक अधिकारीले भने, “टिकट नपाउने पटक पटक गुनासो आएपछि एयरलाइन्सको हेड अफिसमा पनि समस्या टिपाइसकेको छु ।”



प्रतिक्रिया दिनुहोस्