काठमाडौँ । निर्वाचन आयोगले हालै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनामा अनधिकृत पहुँच भएको भन्दै गरिएको दाबीहरूप्रति ध्यानाकर्षण भएको जनाउँदै ती सबै दाबी असत्य र भ्रामक रहेको स्पष्ट पारेको छ।
आयोगका अनुसार वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी कुनै पनि संवेदनशील सूचना प्रणालीमा अनधिकृत रूपमा कसैको पहुँच पुगेको छैन। आयोगले आफ्नो सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको र नागरिकका कानुनअनुसार गोप्य राख्नुपर्ने सूचनाको सुरक्षा सुनिश्चित गर्न निरन्तर प्रतिबद्ध रहेको बताएको छ।
सूचना प्रविधिसम्बन्धी विज्ञहरूको टोलीले प्रणालीको नियमित अनुगमन, सुरक्षा जोखिमको विश्लेषण तथा आवश्यक सुरक्षात्मक उपायहरू निरन्तर रूपमा कार्यान्वयन गरिरहेको आयोगले जनाएको छ।
यस्तै, सामाजिक सञ्जालमा ‘आयोगको प्रणालीबाट लिइएको’ भन्दै प्रस्तुत गरिएका केही पीडीएफ फाइल विगतमा निर्वाचन प्रयोजनका लागि कानुनअनुसार निर्वाचन कार्यालयहरू र राजनीतिक दललाई उपलब्ध गराइएका सामान्य सार्वजनिक सूचनाहरू मात्रै भएको स्पष्ट गरिएको छ। ती फाइलमा कुनै पनि नागरिकका संवेदनशील वा गोप्य विवरण समावेश नभएको आयोगले पुनः दोहोर्याएको छ।
आयोगले भ्रामक, अप्रमाणित तथा मिथ्या सूचना र सामग्रीप्रति विश्वस्त नहुन सबै सरोकारवाला र आम नागरिकलाई आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्