बाराकाे सिमरामा राजनीतिक झडपपछि आज दिउँसोदेखि बेलुका ८ बजेसम्म कर्फ्यू


काठमाडाैँ । बारा जिल्लाको सिमरामा आज दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्म कर्फ्यू जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार जेनजी समूहका युवाहरूको प्रदर्शन र राजनीतिक दलसँग आवद्ध समूहबिच भएको झडपका कारण सरकारी तथा निजी सम्पत्तिमा क्षति हुन नदिन र स्थिति बिग्रन नदिन यस्तो निर्णय गरिएको हो।

कर्फ्यू अन्तर्गत गण्डक नहरदेखि पथलैया सडक खण्डसम्मको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा आवत–जावत, सभा, जुलुस वा कुनै प्रदर्शन गर्न निषेध गरिएको छ।

अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारीसाधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमन सुरक्षा व्यवस्था मार्फत सुनिश्चित गरिने बताइएको छ।

एमाले नेता महेश बस्नेतको विरोधमा सिमरा विमानस्थलमा जेनजी समूह र प्रहरीबीच झडप भएको थियो। बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा आउने तय भएपछि जेनजीहरूले विरोध प्रदर्शन गरेका थिए।

प्रहरीले विमानस्थलको घेराउ गर्ने जेनजी समूहलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो। नेता बस्नेतलाई लिन पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनालीसहितका नेताहरू विमानस्थलमा उपस्थित छन् र उनीहरूको सुरक्षा पनि प्रहरीले व्यवस्था गरेको छ।