सिमरा घटनापछि रास्वपाको मागः राजनीतिक कार्यक्रम सुरक्षित र स्वतन्त्र बनाउन सरकारले तत्काल कदम चाल्नुपर्छ


काठमाडाैँ । बाराको सिमरामा बुधबार भएको नयाँ झडपले आगामी निर्वाचनको माहोललाई थप संवेदनशील बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले घटनाप्रति ध्यानाकर्षण गराउँदै सरकारले राजनीतिक गतिविधि स्वतन्त्र र सुरक्षित रूपमा सञ्चालन हुने वातावरण तत्काल सुनिश्चित गर्न माग गरेका छन् ।

“निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरूले आफ्ना सार्वजनिक कार्यक्रम निर्विघ्न सञ्चालन गर्न पाउनुपर्छ। सरकारले आवश्यक सुरक्षाको व्यवस्था गर्नैपर्छ। आज भएको घटना अत्यन्त संवेदनशील छ र यसले सरकारको गम्भीर ध्यानाकर्षण माग गर्छ,” झाले भने।

रास्वपाले यस्ता घटनाहरू पुनः नदोहोरिन दिन सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै सबै राजनीतिक दलको स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी तत्काल सुनिश्चित गर्न आग्रह गरेको छ।

सिमरा विमानस्थल क्षेत्रमा एमालेका कार्यकर्ता र जेनजी पुस्ताबिच झडप भएको थियो। सो तनावका कारण पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत राष्ट्रिय युवा संघ नेपालको भेलामा सहभागी हुनबाट रोकिएका थिए।