एमाले सचिवालय बैठकको निष्कर्षः सिमरा घटनाले सरकारको प्रतिशोधपूर्ण नीति पुष्टि, संसद पुनःस्थापनाको सान्दर्भिकता बढ्यो


काठमाडाैँ । नेकपा एमालेको सचिवालय बैठकले वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन इच्छुक नभएको र प्रतिपक्षमाथि प्रतिशोधको व्यवहार गरेको आरोप लगाएको छ ।

सरकारले अपनाएको निषेधको नीतिले नेकपा एमालेले यसअघि भन्दै आएको सरकार निर्वाचन गराउन तयार छैन भन्ने निष्कर्षलाई बाराको सिमरामा भएको घटना तथा अन्य घटनाक्रमहरूले थप पुष्टि गरेको ठहर गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो अवस्थाले प्रतिनिधि सभा पुनःस्थापनाको सान्दर्भिकता झन् बढेर गएको बताए ।

बैठकमा मंसिर ६ गते शनिवार काठमाडौंमा आयोजना गर्ने जनसभाबारे विस्तृत छलफल भएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

सिमरा घटनापछि काठमाडौंको जनसभामा पनि घुसपैठ गराएर अवाञ्छित घटना गराउने प्रयास हुनसक्ने आशंका रहे पनि पार्टी पूर्ण शतर्क रहेको उपमहासचिव ज्ञवालीले बताए ।