तरकारी बिमा अनुसूचीमा आलु खेती समावेश


काठमाडौँ । नेपाल बिमा प्राधिकरणले उत्पादनमा आधारित तरकारी खेती बिमालेखको अनुसूचीमा आलु खेतीसम्बन्धी विवरण औपचारिक रूपले समावेश गरेको छ। प्राधिकरणले जारी गरेको सूचनामा अनुसूची–१ मा विभिन्न तरकारी बालीका व्यवस्था भए पनि आलु खेती बिमालेखको विवरण छुटिएका कारण आवश्यक समायोजन गरी नयाँ अभिलेख थपिएको जानकारी दिएको हो।

प्राधिकरणका अनुसार आलु समूहलाई तरकारी बालीको एक वर्गीकरणका रूपमा समावेश गर्दै त्यसअन्तर्गतका विभिन्न प्रजातिहरू-आलु टि.पि.एस, जनकदेव, डेजिरे, कार्डिनल, रोजिटा तथा स्वानियको बिमाङ्क निर्धारणका आधार तय गरिएका छन्। यी प्रजातिहरूको उत्पादकत्व, बाली अवधि तथा टिप्ने प्रकृतिका आधारमा नयाँ विवरण अनुसूचीमा समावेश गरिएको प्राधिकरणले जनाएको छ।

यसअनुसार आलु टि.पि.एस र जनकदेवको उत्पादकत्व ३० क्विन्टल तोकिएको छ भने डेजिरेको १५ क्विन्टल निर्धारण गरिएको छ। त्यस्तै कार्डिनल, रोजिटा र स्वानियको उत्पादकत्व क्रमशः २०, १५ र १५ क्विन्टल सूचीकृत गरिएको छ। बाली अवधि न्यूनतम ८० दिनदेखि अधिकतम १४० दिनसम्म रहने उल्लेख गरिएको छ।