काठमाडौँमा पाँच दिने मिल्क एनालाइजर सीप विकास तालिम सम्पन्न


काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा आयोजित मिल्क एनालाइजर सञ्चालन, सम्भार तथा मर्मतसम्बन्धी पाँच दिने सीप विकास तालिम काठमाडौँमा सम्पन्न भएको छ। तालिममा काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ र काभ्रेबाट २५ जना प्रशिक्षार्थी सहभागी भएका थिए।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश अध्यक्ष टीका प्रसाद घिमिरेले स्वागत मन्तव्य राख्दै तालिममा सिकिएका सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे। उनले डेरी क्षेत्रमा प्रविधिको प्रभावकारी प्रयोगका लागि यस्तो तालिम अत्यन्तै आवश्यक रहेको बताए।

प्रशिक्षार्थी अमृता ढुंगानाले तालिममार्फत धेरै नयाँ ज्ञान र सीप सिक्न पाएको बताउँदै सिकेको कुराले आगामी कार्यक्षेत्रमा ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गरिन्। प्रशिक्षक गोबिन्द तिमल्सिनाले “सीप जति बाँडिन्छ, उति बढ्छ” भन्दै सहभागीलाई सिप आदान–प्रदानमा सक्रिय हुन प्रेरित गरे।

नेपाल डेरी एसोसिएशनका उपाध्यक्ष दिप प्रसाद धमलाले तालिमले डेरी व्यवसायको गुणस्तर तथा सेवा सुधारमा योगदान पुर्‍याउने बताए। प्रमुख अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले तालिममा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै सिकेका ज्ञान र सीपलाई दैनन्दिन कार्यमा लागू गर्न आग्रह गरे।

उनले बोर्डको सहकार्यमा कार्यक्रम आयोजना गरेकोमा एसोसिएशनलाई धन्यवाद दिंदै यस्तो तालिमले किसानदेखि डेरी उद्योगसम्म सबैलाई प्रत्यक्ष फाइदा पुग्ने तथा अनावश्यक मर्मतका नाममा हुने ठगी रोक्न मद्दत गर्ने बताए।

कार्यक्रमका सभापति दाहालले मिल्क एनालाइजरको प्रभावकारी प्रयोगले डेरी क्षेत्रमा उत्पन्न गर्ने सकारात्मक प्रभावबारे उल्लेख गर्दै सहभागीहरूलाई सिकेका सीप एक–अर्कासँग साटासाट गर्न प्रेरित गरे।

कार्यक्रममा नेपाल डेरी एसोसिएशनका महासचिव विजय चौरासिया, केन्द्रिय सदस्य शिव घिमिरे, नुवाकोट अध्यक्ष दिपक ढुंगाना, काठमाडौं जिल्ला सचिव देवराज बजगाईं, सदस्य कुल प्रसाद धमला, ललितपुर दुग्ध व्यवसायी संघका उपाध्यक्ष दिपक सन्जेललगायत सरोकारवालाको उपस्थिति थियो।

एसोसिएसनका तर्फबाट संयोजक तथा केन्द्रिय सदस्य रमेश सन्जेलले तालिमले डेरी व्यवसायी तथा प्राविधिकलाई मिल्क एनालाइजर उपकरणको प्रभावकारी प्रयोग, नियमित सम्भार, समस्या पहिचान तथा मर्मतसम्बन्धी सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको जानकारी दिए। कार्यक्रमका प्रशिक्षक गोबिन्द तिमल्सिना र संयोजक रमेश सन्जेलसहित सहभागी सबैलाई प्रशंसा प्रमाणपत्र वितरण गरिएको थियो।