मन्त्री घिसिङद्वारा बागमती नदी करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइका विषयमा जानकारी


काठमाडाैँ । सहरी विकासमन्त्री कुलमान घिसिङले वागमती नदी करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाईका विषयमा जानकारी लिएका छन् । 

मन्त्री घिसिङले शनिवार बिहान वागमती नदी करिडोरअन्तर्गत गुह्श्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेका हुन् । जम्बुडाँडा क्षेत्रमा ढल जाम हुँदा नदीमा मिसिएको छ । ढल मर्मत हुन नसक्दा त्यस क्षेत्रको सडक पनि बिग्रिएको छ ।

ढल तथा सडक मर्मतका लागि ठेक्का लगाइएको भएपनि काम सन्तोषजनक छैन । मन्त्री घिसिङले मर्मत कार्यको जानकारी लिँदै एक महिनाभित्र सक्ने गरी जनशक्ति थप गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए। नदी सफा भएमा मात्र शहर सफा हुने भन्दै उहाँले वागमतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहोर हटाउने काम उच्च प्राथमकितामा राखी सोही बमोजिम काम अगाडि बढाइएको बताए ।

गुह्ेश्वरी–गोकर्ण खण्डका नदी करिडोरको किनारमा बेवारिसे अवस्थामा रहेका सवारी साधान हटाइएको छ । नदीमा फालिएको फोहोर र त्यहाँ रहेको लेदो हटाउन शुरु गरिएको छ । सबै फोहोर हटाएर त्यस क्षेत्रमा रहेको चेक बाँधलाई सञ्चालनमा ल्याएर सानासाना तलाउ बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी काम भइरहेको मन्त्री घिसिङले उल्लेख गर्नुभयो । हाल चेक बाँध बनाइएको तर नदीमा फोहोर र लेदो जम्मा हुँदा प्रयोगमा आउन सकिरहेको छैन ।