काठमाडौँमा खाद्य अनुगमनः चमेना गृहदेखि दालमोठ उद्योगसम्म अव्यवस्थित, महालक्ष्मी दालमोठको उत्पादन बन्द


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकाका विभिन्न खाद्य उद्योग तथा व्यवसायमा पछिल्ला तीन दिनमा गरेको संयुक्त निरीक्षण–अनुगमनमा ठूला मात्रामा अव्यवस्था, स्वच्छतामा कमी र मापदण्ड उल्लङ्घन भएको पाएको छ।

विभागले मंसिर १, ३ र ५ गते वाणिज्य विभाग तथा काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा गरिएको अनुगमनका आधारमा विभिन्न उद्योग र व्यवसायमा कारबाही तथा निर्देशनहरू सार्वजनिक गरेको हो।

गत मंसिर १ गतेको महानगर र विभागकाे संयुक्त अनुगमन कविता वेभरेज, चन्द्रागिरि–६ मा युभी लाइट नचलाइ पानी जार भरेको पाइएको भन्दै वाणिज्य विभागले १० हजार रुपैयाँ जरिवाना गरेको छ।

उद्योगमा शील प्याक जार उपलब्ध नभएको र सरसफाइ सामान्य मात्र भएको विभागले जनाएको छ। प्रशोधित पिउने पानी उत्पादन निर्देशिका २०७४ अनुसार मापदण्ड पालन गर्न निर्देशन दिइएको छ।

रत्न पार्क पाउ भण्डारमा सरसफाइमा कमी भए पनि अनुमति पत्र नवीकरण भएको पाइएको छ। विभागले स्वच्छता सुधार गर्न निर्देश दिएको छ।

मोबाइल खाद्य प्रयोगशाला भ्यानसहित बागबजार क्षेत्रमा गरिएको अनुगमनमा पि.के. चमेना गृहमा भण्डारण अव्यवस्थित, फ्राइ तेलको टिपीएम५.७ देखिएको, किचनमा पेष्ट कन्ट्राेल नभएको र एक्सहस्ट फ्यान बिग्रिएको पाइएको छ।

बागेश्वरी चमेना गृह, बूढानीलकण्ठ–५ मा तयार खाद्य सामग्री नछोपी राखिएको, फ्राइ तेलको टिएमपी १५.० पाइएको तथा एक प्याकेट म्याद गुज्रिएको स्टिम चाउमिन बरामद गरी नष्ट गरिएको विभागले जनाएको छ।

वज्रयोगिनी भोजनालय तथा विमला स्वीट्स एण्ड चाट हाउसमा पनि अव्यवस्थित भण्डारण, कामदारले पोशाक तथा सुरक्षा सामग्री नप्रयोग गरेको, पेष्ट कन्ट्राेल नहुने, डष्टीबीन नछोपिने लगायत त्रुटिहरू पाइएको छ। विमला स्वीट्समा भेटिएको मसीजन्य कागजबाट बनेका २०० थान पेपर ब्याग नष्ट गरिएको छ।

त्यस्तै मंसिर ३ गतेको अनुगमन भक्तपुरको ताथलीमा रहेका फर्च्युन फुड प्रोडक्ट र दत्तात्रेय खाद्य उद्योगमा सरसफाइ सामान्य भए पनि पेष्ट कन्ट्राेल कमजोर, व्यक्तिगत सरसफाइमा कमी तथा लेबल विवरण अपूर्ण रहेको पाइएको छ। दुवै उद्योगलाई सुधार गरी मात्र बिक्री वितरण गर्न विभागले निर्देशन दिएको छ।

मंसिर ५ गतेको अनुगमन महालक्ष्मी दालमोठ उद्योग, काठमाडौँमा उद्योगको भित्री तथा बाहिरी सरसफाइ अत्यन्त कमजोर, भुईं–भित्तामा फोहोर जमेको, कामदारहरूको व्यक्तिगत स्वच्छता असन्तोषजनक, पेष्ट कन्ट्राेल कमजोर र भण्डारण अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ।

उद्योग परिसरमा भेटिएको ‘अजन्टा’ ब्रान्डको फुड कलर दालमोठ फ्राइ गर्नु अघि नै प्रयोग गर्दै आएको पाइएको छ।
गम्भीर त्रुटि भेटिएपछि उद्योगको सम्पूर्ण स्टक रोक्का राखिएको छ भने अर्को आदेश नभएसम्म उत्पादन तथा बिक्री वितरण बन्द गरिएको छ। तीन दिनभित्र कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

निरीक्षणमा भेटिएका सबै व्यवसायलाई मापदण्डअनुसार सुधार गर्ने तथा खाद्य स्वच्छता कायम राख्न विभागले कडा निर्देशन दिएको छ।