काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय सप्तरीले गोप्य सूचनाका आधारमा ठूलो परिमाणमा लागू औषध गाँजा सहित ट्रक र चालकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत ४ गते राति १०:३० बजे सप्तरी कन्वनरुप नगरपालिका वडा नं. २, बरमझियामा जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख प्र.ना.उ. डम्बर बहादुर पुरीको नेतृत्वमा र इ.प्र. का. कन्चनपुर सप्तरी चाट प्र.ना.उ. माधव प्रसाद काफ्लेको कमाण्डमा खटिएको संयुक्त टोलीले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना ५ ख ५३५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गरेको थियो।
जाँचका क्रममा ट्रकभित्र २८ वटा सेतो बोराभित्र प्लास्टिकले प्याक गरिएको ९७८ केजी लागू औषध (गाँजा) फेला परेको थियो। प्रहरीले ट्रक र चालक संजय श्रेष्ठलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। पक्राउ पर्ने श्रेष्ठ, वर्ष २५, जिल्ला सुनसरी, धरान उपमहानगरपालिका वडा नं. १३ बस्ने व्यक्ति हुन्।



प्रतिक्रिया दिनुहोस्