काठमाडाैँ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ ।
त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आज तिलकोत्सव विधि गरिएको हो ।
राममन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव पुगेका थिए । प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधाम स्थित राम मन्दिरका महन्थबीच अंकमाल गर्दै समधी मिलन गरिन्छ ।
यस वर्ष जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरीले समधी मिलन गर्नुभएको छ । तिलकोत्सवको अवसरमा दुवै पक्षबिच हास्य सपरिहास समेत भएको थियो ।
जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरू राम मन्दिरको प्राङ्गणनमा आएर तिलकोत्सव कार्यक्रममा सहभागि भएका थिए ।
विवाहपञ्चमीको पाँचौ दिन सोमबार माता सीताको मटकोर हुनेछ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने मंगलबार विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ । बुधवार रामकलेवा गरेसँगै यस वर्षको विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ ।



प्रतिक्रिया दिनुहोस्