काठमाडाैँ । सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा विभिन्न संस्थाहरूले आर्थिक सहयोग प्रदान गरेका छन्।
आज लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले उक्त कोषका लागि रु १ करोड १ लाख बराबरको भौचर अर्थ मन्त्रालयमा बुझाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले सो भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन्।
यसअघि मंसिर ३ गते, एफवान सफ्ट ग्रुपअन्तर्गतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेंट सर्भिस लिमिटेडका कर्मचारी तथा कम्पनीहरूको संयुक्त तर्फबाट रु ७५ लाख सहयोगस्वरूप प्रदान गरिएको थियो। सो चेक ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले अर्थमन्त्री खनाललाई बुझाएका थिए।
दुवै कम्पनीको योगदानप्रति नेपालको तर्फबाट अर्थमन्त्री खनालले विशेष धन्यवाद ज्ञापन गरेका छन्।
अर्थ मन्त्रालयका अनुसार मंसिर ७ गतेसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा कुल रु ९ करोड ३० लाख जम्मा भइसकेको छ।



प्रतिक्रिया दिनुहोस्