खर्च कटौतीले राष्ट्रिय राजमार्गकै बजेट रोकियोः सचिव शर्मा


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले चालु आर्थिक वर्षमा गरिएको खर्च कटौतीका कारण राष्ट्रिय राजमार्गका बजेट शीर्षकमै असर परेको बताएका छन्।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार बसेको बैठकमा उनले १ करोड रुपैयाँभन्दा माथिका शीर्षकमा रकम रोकिँदा राजमार्ग निर्माण प्रभावित भएको जानकारी दिएका हुन् ।

सचिव शर्माका अनुसार खर्च कटौतीका कारण करिब २० अर्ब रुपैयाँ रोकिएको छ। विशेषगरी साना तथा सहायक सडक योजनामा सबैभन्दा बढी प्रभाव परेको उनको भनाइ छ।

“सफ्टवेयर प्रणालीका कारण ३ करोड रुपैयाँभन्दा कमका योजना रोकिने भएका छन्। यही प्रक्रियाले राष्ट्रिय राजमार्गका केही शीर्षकका रकम समेत नखुलेको हो,” उनले भने ।

उनले राष्ट्रिय राजमार्गमा १ करोड रुपैयाँमै सम्पन्न हुने काममा अनिवार्य रूपमा ३ करोड बजेट छुट्याउन नसकिने भएकाले अर्थमन्त्रालयसँग लगातार छलफल गरिएको उल्लेख गरे । छलफलपछि १ करोड रुपैयाँभन्दा माथिका राष्ट्रिय राजमार्ग आयोजनाको रकम फुकुवा गर्ने समझदारी बनेको पनि उनले जानकारी गराए ।

सचिव शर्माले राष्ट्रिय गौरवका आयोजनाको बजेट समेत एकमुष्ठ रोकिएकाले केही समय आयोजनाको कार्यान्वयन गतिमा समस्या देखिएको बताए।

उनका अनुसार सडक विभागको पुँजीगत खर्च प्रगति ९.६७ प्रतिशतमा सीमित छ भने यातायात व्यवस्था विभाग र रेल विभागको प्रगति झन् कम छ। जेन–जी आन्दोलनका कारण विभागीय कार्यालयमा क्षति पुग्दा काम प्रभावित भएको पनि उनले उल्लेख गरे ।
रेल विभागका योजनाबारे जानकारी दिंदै उनले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग परियोजनाको ठेक्का प्रक्रिया अघि बढे पनि जग्गा प्राप्तिको निर्णय नहुँदा समस्या देखिएको बताए ।

सचिव शर्माले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २ लेन सडक १२९ किलोमिटर कालोपत्रे, ४ लेन वा सोभन्दा बढीको ७ किलोमिटर कालोपत्रे, ३३ किलोमिटर ग्राभेल सडक तथा २७ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको जानकारी दिनुभयो। यस अवधिमा सातवटा पुल निर्माण भएका छन् भने रेल विभागको ट्रयाकवर्क ३०० मिटर पुगेको छ।

यातायात व्यवस्थापन सेवाबारे बोल्दै उनले सुरक्षा मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु भएको र छिट्टै विभागले स्वयं छाप्ने तयारी भइरहेको पनि बताए ।