काठमाडाैँ । सिमरा नागरिक उड्डयन कार्यालयले विमानस्थल क्षेत्रभित्र रहेको कृषि प्रयोजनका लागि जग्गा ठेक्का दिने सम्बन्धी बोलपत्र आह्वान सूचना सार्वजनिक गरेको छ।
प्राधिकरणले आज सूचना जारी गर्दै बारा, सिमरास्थित विमानस्थल क्षेत्रभित्र पर्ने प्लट नम्बर १ को ०४ बिघा ०३ कठ्ठा ०३ धुर जग्गा पाँच वर्षका लागि ठेक्कामा दिन लागेको जनाएको छ।
उक्त जग्गा २०८२ पुस १ गतेदेखि २०८७ मङ्सिर मसान्तसम्मका लागि कृषि प्रयोजनमा उपयोग गर्न मिल्ने गरि ठेक्का दिने तयारी गरिएको कार्यालयले जनाएको छ। बोलपत्र फाराम रु. ३,३९० (कर सहित) बुझाएर २०८२ मङ्सिर १० देखि २४ गतेसम्म कार्यालय समयभित्र प्राप्त गर्न सकिनेछ।
बोलपत्र फाराम २०८२ मङ्सिर २५ गते दिउँसो १२:०० बजेभित्र दर्ता गराइसक्नुपर्नेछ भने सोही दिन दिउँसो २:०० बजे कार्यालयमा सरोकारवाला निकाय र ठेकेदार प्रतिनिधिको उपस्थितिमा खोलिनेछ। बोलपत्र दाताले वार्षिक कबोल रकमको ५ प्रतिशत बराबरको धरौटी कार्यालयको एभरेस्ट बैंक, सिमरास्थित धरौटी खातामा जम्मा गरेको भौचर वा बैंक जमानतसहित पेश गर्नुपर्नेछ।
उक्त प्लटको न्यूनतम वार्षिक कबोल रकम रु. १ लाख२५ हजार ५०० तोकिएको छ, जसअनुसार पाँच वर्षका लागि कुल ठेक्का रकम रु. ६,२७,५०० रहनेछ। बोलपत्र स्वीकृत भएका ठेकेदारले कुल ठेक्का अङ्कको २५ प्रतिशत रकम राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका बैंकमार्फत म्याद गइसकेको भन्दा कम्तीमा ६ महिना बढी म्याद भएको बैंक जमानत वा कार्यालयको धरौटी खातामा रकम जम्मा गरी सम्झौता गर्नुपर्नेछ।
ठेक्का लिने व्यक्ति वा संस्थाले विमानस्थल सुरक्षा व्यवस्थामा असर नपर्ने गरी कृषि गतिविधि सञ्चालन गर्नुपर्ने पनि कार्यालयले स्पष्ट पारेको छ। उखु, मकैजस्ता अग्ला बाली, जंगली जनावर वा चराचुरुङ्गो आकर्षित गर्ने बाली तथा कानूनले निषेध गरेका बाली लगाउन पूर्ण रूपमा रोक लगाइएको छ। त्यस्तै, तारबार र अन्य संरचनाको सुरक्षा तथा मर्मत सम्भार ठेकेदारकै जिम्मेवारीमा रहनेछ।
कार्यालयले आवश्यक परेमा कुनै कारण जनाई वा नजनाई बोलपत्र स्वीकृत गर्ने वा नगर्ने तथा ठेक्का रद्द गर्ने अधिकार आफूहरूसँग सुरक्षित रहने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्