काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हिजाे बसेको सचिवालय बैठकले पार्टी संगठन सुदृढीकरण, आन्तरिक पदपूर्ति र आगामी राजनीतिक रणनीतिलाई केन्द्रमा राख्दै पाँच महत्वपूर्ण निर्णय गरेको छ।
बैठकमा विभिन्न राजनीतिक दल, समूह तथा व्यक्तिहरूसँग भइरहेको संवाद–प्रक्रियाको प्रगतिबारे उच्च संवाद समितिबाट विस्तृत ब्रिफिङ प्रस्तुत गरिएको थियो।
केन्द्रीय समितिको मङ्सिर ३ गतेको बैठकले दिएको निर्देशनअनुसार सम्भावित राजनीतिक ध्रुवीकरण र सहकारी सहकार्यलाई ठोस नतिजातर्फ अघि बढाउन सचिवालयले आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ। सुशासन र द्रुत विकासप्रति प्रतिवद्ध वैकल्पिक शक्ति भएका सबैलाई मुलुकमा अर्थ–राजनीतिक आमूल परिवर्तनको लागि एक स्थानमा उभिन आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ।
पार्टीका तीन केन्द्रीय निकाय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा रहेका रिक्त पद पूर्तिका लागि योग्य व्यक्तिको नाम सिफारिस गर्न केन्द्रीय समिति सदस्यहरूलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।
प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका सचिवालय सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै उनीहरूलाई आगामी निर्वाचन केंद्रित भूमिकामा परिचालन गर्ने र प्रदेश इन्चार्जका जिम्मेवारी अब केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय भएको छ।
संगठन विस्तारका लागि सबै स्थानीय तहमा ‘र्यापिड एक्सन टिम’ गठन गर्ने र त्यसका लागि प्रदेश तथा जिल्ला संगठनलाई आवश्यक निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै, कार्यसम्पादन मूल्यांकन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० अनुसार कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरिएको छ।



प्रतिक्रिया दिनुहोस्