‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी, सरोकारवालाहरू सकारात्मक


काठमाडाैँ । अध्यागमन विभागले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ । 

नेपाल भित्रिने विदेशी नागरिकहरूको तथ्यांक व्यवस्थित ढङ्गले सङ्कलन, अभिलेखन र विश्लेषण गर्न उक्त प्रणाली लागू गर्न लागिएको हो ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटकहरूको सुरक्षाको सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवद्र्धन, र अपराध नियन्त्रणका लागि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिए।

महानिर्देशक तिवारीले मुलुकमा प्रवेश गर्ने विदेशी नागरिकको गतिविधि र आवाससम्बन्धी विवरण राज्यलाई अनिवार्य रूपमा थाहा हुनुपर्ने स्पष्ट गर्दै आगामी जनवरी १ देखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू हुने बताए ।

उनकाअनुसार जसरी राज्यका नागरिकहरुको अवस्थाबारे राज्यलाई थाहा हुनुपर्छ त्यसरी नै विदेशी नागरिकको अवस्थासँगै उनीहरू आएको मुलुकमा अवस्था सरकारलाई जानकारी हुन अपरिहार्य छ । सोही कारण यो प्रणालीको विकास गरिएको तिवारीको भनाइ रहेको छ । 

“जसरी हरेक नेपालीको गतिविधि राज्यलाई थाहा हुनुपर्छ, त्यसरी नै नेपाल आउने विदेशीको बारेमा चासो सरकारले राखेको हो । उनीहरुलाई स्वतन्त्रता छ भन्दैमा राज्यलाई थाहा हुनुपर्दैन भनेको होइन, राज्यले चासो नराख्नुपर्ने ठाँउमा राख्न पाउँदैन । तर राख्नुपर्ने ठाउँमा राख्नुपर्‍यो । कोही मान्छे चुकुल लगाएर कोठामा पसे पछि, यो कोठामा छिरेको थियो भन्ने सम्म सरकारले हेर्न पाउँछ, चुकुल लगाएर छिरे पछि मैले अपराध गर्दा सम्म राज्यले हेर्न पाउँदैन,” उनले भने ।

विभागले यो प्रणालीबारे जानकारी दिन आयोजित छलफलमा ‘नेपाल एसाेसिएसन अफ टुर्स एण्ड ट्राभल्स ऐजन्ट्स’की वरिष्ठ उपाध्यक्ष तेजश्वी तुलाधरले आफूले पनि यो प्रणालीको बारेमा पर्यटकहरूलाई बुझाउने बताए ।उनले यो प्रणाली लागू गर्दा विदेशी पर्यटकको जानकारी राख्न समेत सघाउ पुग्ने बताए ।

उनले अध्यागमनमा सुधारको खाँचो समेत रहेको बताए। तुलाधरकाअनुसार दुबईसहित विदेशी मुलुकहरूले पर्यटकहरूलाई फ्रिमा सिम दिने गर्छन्, त्यो व्यवस्था नेपालमा समेत अध्यागमनबाटै मिलाउँदा उनीहरूको अवस्था बुझ्न सहज हुनेछ । 

नेपाल यातायात व्यावसयी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले व्यवस्थित यातायात प्रणालीको विकास हुन जरुरी रहेको बताए । स्वारले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्न सरकारले होटल, एयरलाइन्स लगायतका क्षेत्रसँग पनि समन्वयन गर्नुपर्नेमा जोड दिए ।

होटल एसाेसिएसन नेपालका महासचिव साजन शाक्यले सरकारले लागू गर्न लागेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ जनवरी १ देखि कार्यान्वयन गर्न कठिन हुने बताउँदै थप समय आवश्यक पर्ने बताए । उनकाअनुसार स्टार होटलहरू पर्यटन विभागमा दर्ता भएकाले कार्यान्वयन सहज देखिए पनि सरकारी नीतिबारे पर्याप्त छलफल पुग्न सकेको छैन ।

विभागले २०८२ पुस १७ गतेबाट उपत्यकाका तारे होटलहरुमा यसको पहिलो चरणको लागू गर्ने र २०८२ फाल्गुन १७ बाट देशभरका होटल, एयरलाइन्स, होमेस्टे, टे«किङ कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जर कम्पनी तथा अन्य सबै सेवा प्रदायकहरुमा यसको अनिवार्य लागू गर्ने बताएको छ ।