ललितपुरमा दूधजन्य उपकरण मर्मत तालिम सम्पन्न, किसानलाई लाभ हुने अपेक्षा


काठमाडाैँ । प्रदेश दुग्ध विकास बोर्ड, बागमती प्रदेशको आ.व. २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ललितपुर जिल्लाका दुग्ध उत्पादक सहकारी संघको समन्वयमा तथा बोर्डको आयोजनामा ललितपुर, लगनखेलको पशुसेवा कार्यालय सभाहलमा तीन दिने दूधजन्य यन्त्र उपकरण (मिल्क एनालाइजर) मर्मत तथा सञ्चालन तालिमको समापन भएको छ।

समापन समारोहमा प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरि प्रसाद पौडेलले सभापतित्व गरेका थिए । प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा बोर्ड सदस्य प्रल्हाद दाहाल, नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य रमेश सन्जेल र बोर्डका निर्देशक सुशील के.सी. उपस्थित थिए।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सापकोटाले सिकेका कुरा सदैव व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनु भएको थियो। उहाँले यसबाट मात्रै सही सदुपयोग हुने र अनावश्यक खर्चबाट बच्न सकिने बताए।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले यस्ता तालिमले धेरै किसानलाई प्रत्यक्ष लाभ हुने र दुग्ध संकलन तथा मर्मतसम्भारमा समस्या कम हुने कुरा उल्लेख गरे । साथै, बागमती प्रदेशमा दैनिक दुईपटक दुग्ध संकलन अनिवार्य गर्न बोर्डले पहल गर्नु पर्ने सुझाव राखे ।

प्रधान अतिथि मन्त्री पौडेलले किसानको समस्यालाई बुझेर सकेसम्म समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपाध्यक्ष हरि पौडेलले यस प्रकारका तालिम प्रारम्भमा सामान्य लाग्न सक्ने भए पनि दीर्घकालीन रूपमा किसान र उद्योगीलाई ठूलो लाभ हुने भन्दै भविष्यमा आवश्यक अनुसार थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

तालिम सञ्चालन बोर्डका अधिकृत प्रदिप सापकोटा र सहजिकरण हेक्जा इलेक्ट्रोनिक्स प्रा. लि. का सञ्चालक नारायण पौडेलले गरेका थिए ।

कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो। बोर्डले दुग्ध किसान र उद्योगीलाई हित हुने यस्ता विभिन्न कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने बताएको छ।