काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषिमा उल्लेख्य मात्रामा लगानी भए पनि अपेक्षित उपलब्धी हासिल हुन नसकेको बताएका छन्।
नेपाल कृषि अर्थशास्त्र समाजको १९औँ वार्षिक साधारणसभामा गभर्नर पौडेलले कृषिमा हाल करिब ६ खर्ब ८८ अर्ब रूपैयाँ लगानी भएको उल्लेख गरे। तर यति ठूलो लगानीका बाबजुद पनि उत्पादन, उत्पादकत्व र किसानको आम्दानीमा अपेक्षित सुधार देखिन नसकेको उनको भनाइ छ।
गभर्नर पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थाले कृषिमा निरन्तर कर्जा प्रवाह गरिरहेका छन्। हालसम्म ३१ हजार ४२ जनाले सहुलियतपूर्ण कर्जा पाइसकेका छन्। किसानलाई सहज रूपमा कर्जा उपलब्ध गराउने उद्देश्यले १० लाख रुपैयाँसम्मको ऋणमा धितो नचाहिने नीति अपनाइएको उनले बताए ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट सिफारिस भएका किसानलाई समेत धितो बिना कर्जा उपलब्ध गराइँदै आएको जानकारी उनले दिए।
त्यस्तै, पाँच करोड रुपैयाँसम्मको कृषि कर्जा प्रोजेक्ट बेसमा प्रवाह गर्ने व्यवस्था गरिएको र दुग्ध उत्पादन, सुन्तला, कफी लगायतका कृषि व्यवसायका लागि कर्जा दिइँदै आएको उनले स्पष्ट पारे। एक करोड रूपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था समेत कार्यान्वयनमा रहेको उनकाे भनाइ छ ।
तर, कृषिमा लगानीको प्रभावकारी प्रतिफल नआउनुका पछाडि विभिन्न संरचनागत समस्या रहेको गभर्नर पौडेलले औँल्याए । कृषिमा उत्पादनदेखि बजारीकरणसम्म ६–७ वटा चरण रहने र तीमध्ये कुनै एक चरणमा समस्या आए समग्र प्रणाली नै प्रभावित हुने उनको भनाइ छ।
उत्पादन गर्न सके पनि बजार, मूल्य, ढुवानी र जोखिम व्यवस्थापनमा समस्या देखिएको उनले बताए। उनका अनुसार कृषि अनुसन्धान र व्यवहारिक कृषि अभ्यासबिच गहिरो ‘कम्युनिकेशन ग्याप’ छ। अनुसन्धान आवश्यकताअनुसार हुन नसकेको र वैदेशिक रोजगारीलाई मात्रै केन्द्रमा राखेर अनुसन्धान हुने प्रवृत्तिले कृषिमा नवप्रवर्तन कमजोर बनेको उनले उल्लेख गरे।
बैंकले कर्जा प्रवाहको वातावरण सिर्जना गरे पनि त्यसको प्रभावकारिता देखिन नसकेको उनको स्वीकारोक्ति छ। गभर्नर पौडेलले कृषिप्रति किसानको आकर्षण घट्दै गएको र ३५ वटा जिल्लामा जनसंख्या घटेको तथ्यसमेत प्रस्तुत गरे। उत्पादन क्षेत्रफल घट्दै गएको अवस्थामा ऋण त गइरहेको तर उपलब्धि नदेखिनु चिन्ताको विषय भएको उनले बताए।
कृषि बाहिरबाट हेर्दा सरल देखिए पनि भित्र निकै जटिल इन्जिनियरिङ आवश्यक पर्ने क्षेत्र भएको उल्लेख गर्दै गभर्नर पौडेलले किसानको फाइदा बढाउने, जोखिम न्यूनीकरण गर्ने तथा बिमा प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ सबै पक्षले ध्यान दिनुपर्ने बताए।
कृषिमा लगानी र परिणामबिचको खाडल कम गर्न नीति, अनुसन्धान, बैंकिङ प्रणाली र बजार व्यवस्थापनलाई एउटै सूत्रमा बाँध्न आवश्यक रहेको गभर्नर पौडेलकाे भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्