काठमाडौं । बीमा प्राधिकरणका कर्मचारीले सेवा–सुविधा, सङ्गठन संरचना तथा पदपूर्तिसम्बन्धी माग राख्दै सार्दै आजदेखि आन्दोलन सुरु गरेका छन् ।
बीमा प्राधिकरण कर्मचारी युनियन र कर्मचारी संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै आन्दोलन सुरु गरेको जनाएका छन् ।
दुवै सङ्गठनको संयुक्त आयोजनामा सुरु भएको आन्दोलनअन्तर्गत पहिलो चरणमा चार दिनसम्म कालोपट्टी बाँधेर काम गर्ने तथा कार्यालय प्रांगणमा कालो ब्यानर टाँगेर विरोध प्रदर्शन गरिने जारी विज्ञप्तीमा जनाइएको छ ।
कर्मचारीहरूले २०८२ जेठ १२ र १६ गते प्राधिकरणको सञ्चालक समितिबाट स्वीकृत भई मन्त्रालयमा पठाइएको सेवासुविधा तथा नयाँ दरबन्दी (सङ्गठन संरचना) सम्बन्धी प्रतिवेदन तत्काल लागू गरी पदपूर्तिको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
उनीहरूले बीमा क्षेत्र प्राविधिक प्रकृतिको भएकाले माथिल्लो पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा संस्थाको आवश्यकताअनुसारको जनशक्ति उपलब्ध नहुने दाबी गर्दै कर्मचारी विनियमावली संशोधन गरी उपनिर्देशक पदमा आन्तरिक प्रतिस्पर्धा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा मात्रै पदपूर्ति गर्नुपर्ने माग राखेका छन् ।
त्यसैगरी कर्मचारी विनियमावलीमा प्राविधिक र प्रशासन समूह स्पष्ट नहुँदा भविष्यमा विवाद उत्पन्न हुन सक्ने अवस्था आएको उल्लेख गर्दै समूहगत संरचना, प्रदेश सरुवा र भौगोलिक अंगको व्यवस्थालाई स्पष्ट पारेर नीतिगत रूपमा समाधान गर्नुपर्ने माग गरिएको छ ।
कर्मचारीको क्षमता विकास, सिकाइको अवसर, कार्यवातावरण सुधार, गुनासा सुनुवाइ र मनोबल वृद्धिसँग सम्बन्धित विषयमा कर्मचारीको प्रतिनिधित्व रहने सिफारिस समितिमार्फत मात्रै निर्णय हुने व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ ।
कर्मचारीहरूले निर्देशक पदमा अधिकतम सेवा अवधि तोक्नुपर्ने, प्राधिकरणको उत्तराधिकारी योजना यथाशीघ्र लागू गर्नुपर्ने तथा संस्थागत सुधार र विकासका लागि अन्तर्राष्ट्रियस्तरका संस्थामार्फत रिइन्जिनियरिङ गर्नुपर्ने माग पनि अघि सारेका छन् ।
संयुक्त विज्ञप्तिमा पहिलो चरणका कार्यक्रमको उपलब्धिको समीक्षा गर्दै आवश्यकताअनुसार आन्दोलनका कार्यक्रम परिमार्जन तथा थप सशक्त कार्यक्रमहरू चरणबद्ध रूपमा सार्वजनिक गरिने उल्लेख गरिएको छ ।
कर्मचारीहरूले मागहरू बेवास्ता भए आन्दोलनलाई अझ कडा बनाउने चेतावनी समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्