संयुक्त राष्ट्रसंघका महासचिवद्वारा क्यारेबियन क्षेत्रमा संयम अपनाउन आह्वान


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले क्यारेबियन क्षेत्रमा संयम अपनाउन र तत्काल तनाव न्युनिकरण गर्न आह्वान गरेका छन् ।

महासचिवका उपप्रवक्ता फरहान हकले यो जानकारी दिएका हुन् । अमेरिकाको भेनेजुएलाविरुद्धको पछिल्लो कदमहरूबारे सोधिएका प्रश्नहरूको जवाफमा हकले दैनिक पत्रकार सम्मेलनमा भनेका थिए ।

महासचिव गुटेर्रेसले वर्तमान अवस्थालाई निकै नजिकबाट अनुगमन गरिरहनुभएको उनले बताए । हककाअनुसार महासचिवले सबै सरोकारवालाहरूलाई अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्रसंघको बडापत्र र अन्य लागू हुने कानूनी ढाँचाहरूको सम्मान गर्दै क्षेत्रमा शान्ति कायम गर्न आफ्ना दायित्वहरू पूरा गर्न आह्वान गरेका छन् ।

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोविरुद्धको महीनौंदेखिको दबाब अभियानलाई तिब्र बनाउँदै भेनेजुएलाबाट आउजाउ गर्ने सबै प्रतिबन्धित तेल ट्यांकरहरूको पूर्ण नाकाबन्दीको आदेश दिएको घोषणा गरेका थिए ।

यसको जवाफमा भेनेजुएलाले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भन्दै निन्दा गरेको छ । यो मुद्दा संयुक्त राष्ट्रसंघमा उठाउने प्रतिवद्धता व्यक्त गरेको छ ।