काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँग भएको १० बुँदे सम्झौताको पक्षधर जेनजी समूहबाटै निर्वाचन हुन नदिने घोषणा आउनु गम्भीर विषय भएको भन्दै आगामी निर्वाचन हुने–नहुनेमा आशंका उत्पन्न भएको बताएका छन् ।
मंगलबार नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँग भएको छलफलका क्रममा उपसभापति गुरुङले यस्तो धारणा व्यक्त गरेका हुन् ।
जेनजीका अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्तामा निर्वाचन हुन नदिने अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले यसले सरकार स्वयं निर्वाचन गराउन इच्छुक छ कि छैन भन्ने प्रश्न उठाएको बताए ।
निषेधको राजनीति र निषेधकै भावनाबाट निर्वाचन सम्पन्न हुन नसक्ने उनको भनाइ थियो । सरकार स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन अग्रसर नदेखिएको आरोप लगाउँदै उनले पुराना वा नयाँ पार्टीको नाममा कुनै पनि दललाई राजनीतिक यात्राबाट रोक्ने प्रयासले निर्वाचन सम्भव नहुने जिकिर गरे । उपसभापति गुरुङले कसैको पनि मताधिकार खोसिन नदिन नेपाली काँग्रेस दृढ रहेको स्पष्ट पारे ।
उनले सरकारलाई कुनै प्रश्न नउठ्ने गरी निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गर्दै आशंका पैदा हुने गतिविधिबाट टाढा रहनुपर्ने बताए । सबै राजनीतिक दल सहभागी हुने वातावरण बने मात्रै निर्वाचन सफल हुने उनको भनाइ थियो ।
अन्तरजिल्ला मतदान, विदेशमा रहेका नेपालीको मतदानजस्ता विषयमा चर्चा मात्र नभई व्यवहारिक तयारी आवश्यक रहेको उनले उल्लेख गरे ।
उपसभापति गुरुङले फागुन २१ गते निर्वाचन हुने भनिएको सन्दर्भ उल्लेख गर्दै त्यसलाई केन्द्रमा राखेर सरकार गम्भीर रूपमा लाग्नुपर्ने बताए । १० बुँदे सम्झौता गर्ने पक्षबाटै सम्झौताको मसी नसुक्दै निर्वाचन हुन नदिने भनाइ आउनुले आशंका झनै बलियो बनाएको उनको टिप्पणी थियो ।
नेपाली काँग्रेस निर्वाचनबाट पछि नहट्ने स्पष्ट पार्दै उनले सरकारले अझै निर्वाचनको वातावरण निर्माण गर्न नसकेको आरोप लगाए । शान्ति सुरक्षा नै निर्वाचनको पहिलो सर्त भएको उल्लेख गर्दै उनले सरकार भयमुक्त वातावरण बनाउन असफल भएको बताए ।



प्रतिक्रिया दिनुहोस्