काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘कालो धन’लाई वैध बनाउन नोटबन्दी गर्नुपर्ने विचार व्यक्त गरेका छन्।
बिहीबारदेखि सुरू भएको पार्टीको केन्द्रीय समितिको बैठकमा उनले भ्रष्टाचार नियन्त्रण र आर्थिक पारदर्शिता सुनिश्चित गर्न नोटबन्दी आवश्यक रहेको बताएका हुन् ।
उनले ५ सय र १ हजार रुपैयाँका नोट खारेज गरेर नयाँ २००, ४०० र २ हजार रुपैयाँका नोट प्रचलनमा ल्याउन सकिने सुझाव दिए। साथै, भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानविन आयोग र उच्चस्तरीय न्यायालय गठन गर्नुपर्नेमा जोड दिए । यस न्यायालयको फैसलापछि सर्वोच्चमा पुनरावेदनको व्यवस्था नहुने व्यवस्था बनाउनुपर्ने उनको भनाइ छ।
महासचिव चन्दले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरी हदैसम्मको जन्मकैद सजायको व्यवस्था गर्नुपर्ने र पार्टीका माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।उनले आन्दोलन शान्तिपूर्ण हुने दाबी गरे ।
उनले भने, “हाम्रा मुख्य चार प्रस्ताव छन् – सर्वपक्षीय सरकार गठन, भ्रष्टाचारसम्बन्धी उच्चस्तरीय छानविन आयोग, उच्चस्तरीय न्यायालय, र नोटबन्दी। कालो धनलाई सेतो बनाउने हो भने ५ सय र १ हजार नोट खारेज गर्नुपर्छ र नयाँ २००, ४०० र २ हजार नोट प्रचलनमा ल्याउन सकिन्छ।”
उनले वर्तमान सरकारले निर्वाचन गर्न असमर्थ रहेको र कर्मचारी तथा प्रहरीको मनोबल गिरिरहेको हुँदा सर्वपक्षीय सरकार गठन आवश्यक भएको बताए । यद्यपि नेपालमा कम्युनिष्ट पार्टीको एकता आवश्यक भएपनि तत्काल सम्भावना नरहेको उल्लेख गरे ।
उनले एमालेसँग मिलेर केही समान एजेण्डा अघि बढाउन सकिने उल्लेख गर्दै सर्वपक्षीय सरकारको एजेण्डा एमालेसँग मिल्ने सङ्केत गरे ।



प्रतिक्रिया दिनुहोस्