काठमाडाैँ । कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग तीव्र रूपमा बढ्दै गएसँगै त्यससँग जोडिएका सीप र प्राविधिक जनशक्तिको आवश्यकता पनि बढ्न थालेको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)को आयोजनामा हाते ट्याक्टर मर्मत–सम्भार सम्बन्धी पाँचदिने तालिम सोमबारदेखि सुरू गरिएको छ ।
कीर्तिपुरस्थित समशितोष्ण बागवानी केन्द्रको तालिम हलमा सुरू भएको उक्त तालिममा देशका विभिन्न स्थानबाट आएका २४ जना प्रशिक्षार्थीको सहभागीता रहेको छ । पछिल्ला वर्षहरूमा गाउँगाउँमा हाते ट्याक्टर र मिनी टिलरको प्रयोग बढे पनि बिग्रँदा मर्मत गर्ने दक्ष प्राविधिक नपाइने समस्या देखिन थालेपछि नामियाले यस्तो तालिमलाई प्राथमिकतामा राख्दै आएको हो ।
तालिममा सहभागीलाई हाते ट्याक्टर तथा मिनी टिलरका विभिन्न पार्टपुर्जा, तिनको संरचना, सामान्यदेखि जटिल खराबी पहिचान गर्ने तरिका तथा मर्मत–सम्भारका उपायबारे सैद्धान्तिक र व्यवहारिक दुवै खालको ज्ञान प्रदान गरिनेछ । तालिम सम्पन्न भएपछि सहभागीले मिनी टिलरको मर्मत–सम्भार सम्बन्धी सम्पूर्ण आधारभूत तथा व्यवहारिक सीप हासिल गर्ने नामियाका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए। उनका अनुसार यस्ता तालिमले स्थानीय स्तरमै प्राविधिक जनशक्ति तयार गर्न सहयोग पुग्नेछ ।

कृषिमा बढ्दो उत्पादन लागत घटाउन र श्रमको अभावलाई सम्बोधन गर्न यान्त्रीकरण अपरिहार्य बन्दै गएको सन्दर्भमा यस्ता सीपमूलक तालिम अत्यन्त आवश्यक रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले बताए । तालिम उद्घाटन कार्यक्रममा बोल्दै उहाँले मिनी ट्याक्टर जस्ता साना कृषि यन्त्रको प्रयोग बढ्दै गएको अवस्थामा तिनको मर्मत–सम्भार र सञ्चालनसम्बन्धी सीप विस्तारमा निजी क्षेत्रको पहल महत्वपूर्ण रहेको भन्दै नामियाको भूमिकाको प्रशंसा गरे ।

सचिव मिश्रले देशका दूरदराजका क्षेत्रमा समेत कृषि यान्त्रीकरणको प्रयोग बढ्दै गइरहेकाले किसानको घरदैलोमै सेवा पुर्याउन यस्ता तालिमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । साथै, आगामी दिनमा स्थानीय तहको समेत सक्रिय सहभागितामा तालिम कार्यक्रम सञ्चालन गर्न सके कृषिमा यान्त्रीकरणको दिगो विकासमा टेवा पुग्ने उनको धारणा थियो ।



प्रतिक्रिया दिनुहोस्