नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो पाँच महिनामा सात अर्ब ६५ करोड १९ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। तर, यो अवधिमा कुनै पनि महिनामा तोकिएको मासिक लक्ष्य हासिल गर्न सकेको छैन।
सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार साउनदेखि मङ्सिरसम्म सबै महिनामा लक्ष्यभन्दा कम राजस्व उठेको हो। पाँच महिनामा सबैभन्दा बढी असोजमा ८७।८३ प्रतिशत लक्ष्य हासिल भएको छ भने भदौमा सबैभन्दा कम ६९।७७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ।
यस अवधिमा नेपालगन्ज नाकाबाट ३० अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा वृद्धि हो। निर्यात पनि बढेर एक अर्ब एक करोड रुपैयाँ नाघेको छ।
पाँच महिनामा नेपालगन्ज भन्सारमार्फत कुल ३१ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यद्यपि, व्यापार घाटा अघिल्लो आवझैं उच्च रहँदै चालु आवमा ९६।६८ प्रतिशत पुगेको छ।



प्रतिक्रिया दिनुहोस्