अध्यागमन विभागका महानिर्देशकको टिप्पणी : विमानस्थलको ढोका थुनेरमात्र पलायन रोक्न सकिँदैन


काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको नीतिगत समस्याको कारण बढ्दो युवा पलायन रोक्न नसकेको टिप्पणी गरेका छन् ।

बिहीवार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै महानिर्देशक तिवारीले पछिल्ला २० वर्षमा विदेश जाने प्रक्रियामा नियन्त्रण गर्ने प्रयास भएपनि त्यसले अपेक्षित परिणाम दिन नसकेको बताए ।

उनले विमानस्थलको ढोका थुनेर मात्र बढ्दो विदेश पलायन रोक्न नसकिने टिप्पणी गर्दै राज्यले स्टार्टअप लगायतका क्षेत्रमा सहयोग गर्न जरुरी रहेको बताए ।

उनले भने,“ कहिले अध्यागमनले कहिले एयरलाइन्सले गरेर १५० भन्दा बढी मान्छे रोकेछौँ तर एकदुई महिना अडियो होला, कोही पनि नेपालमा अडिएनछ । विमानस्थलमा ढोका थुनेर कोही अडिँदो रहेनछ । हामीले युवाहरुलाई अस्टार्टअप लगायतका क्षेत्रमा सहयोग नगरिकन कुनैपनि युवालाई रोकेर मात्र हुँदैन ।”

उनले अध्यागमन नीतिमा बारम्बार बुँदा फेरबदल हुँदा लागत मात्र बढेको र अध्यागमन प्रणालीको समग्र ‘इकोसिस्टम’ले लय गुमाएको समेत उल्लेख गरे ।

उनले सरोकारवाला निकायले विदेशी नागरिकले नेपालमा रहँदा गर्ने क्रियाकलापबारे ध्यान नदिएको कारण मुलुकको सांस्कृति र तथा शान्ती सुव्यवस्था खल्बलिएको उल्लेख गरे ।

*यसअघि फोटो फरक परेकाले सच्चाइएको छ ।