काठमाडाैँ । बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी क्षेत्रमा बाघ आक्रमणको घटनापछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
निकुञ्ज प्रशासनले घटनालाई गम्भीर रूपमा लिँदै सम्भावित जोखिम न्यूनीकरणका लागि क्यामेरा निगरानी र क्षेत्रीय अनुगमन बढाएको छ ।
घटनास्थल वरपर पाँच थान क्यामेरा जडान गरी निरन्तर निगरानी भइरहेको भए पनि हालसम्म बाघको उपस्थिति पुनः नदेखिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए । उनका अनुसार बाघ घटनापछि पुनः त्यही क्षेत्रमा नफर्किएकाले आहारा खोज्दै अन्यत्र सरेको हुनसक्ने अनुमान गरिएको छ ।
गत शनिबार गाई चराउन जंगल गएका ६२ वर्षिय मरिचमान भण्डारीमाथि बाघले आक्रमण गर्दा मृत्यु भएको थियो । त्यसयता सौरी र आसपासका बस्तीमा वन क्षेत्रमा जाने विषयमा डर र सतर्कता बढेको छ ।
निकुञ्ज प्रशासनले स्थानीयलाई समूहमा मात्र जंगल जान, साँझपख वन क्षेत्र नछिर्न र शंकास्पद गतिविधि देखिए तुरुन्त जानकारी गराउन आग्रह गरेको छ ।
प्रारम्भिक अध्ययनअनुसार उक्त आक्रमण योजनाबद्ध नभई आकस्मिक भएको हुनसक्ने निकुञ्जको निष्कर्ष छ । कँडेलका अनुसार बाघले पहिले नै आहारा (गाई) मारेको अवस्थामा नजिक पुगेका कारण आहारा जोगाउने क्रममा आक्रमण भएको सम्भावना बढी देखिन्छ ।
निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि थप निगरानी, जनचेतना र समन्वयात्मक उपायहरू अघि बढाइरहेको जनाएको छ । स्थानीय तहसँगको सहकार्यमा जोखिम क्षेत्र पहिचान गरी आवश्यक सतर्कता अपनाइने निकुञ्जको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्