काठमाडौँ। कृषि जैविक विविधताको संरक्षण, उपयोग र प्रवर्धनमा युवाको भूमिकालाई केन्द्रमा राख्दै चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ माघ महिनाको पहिलो हप्ताभर देशभर विभिन्न कार्यक्रमसहित मनाइने भएको छ।
कृषि विभागको समन्वयमा सम्बन्धित सरकारी निकाय, प्रदेश तथा स्थानीय तह, गैरसरकारी संस्था र निजी क्षेत्रको सहभागितामा दिवस तथा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिनेछ।
कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने, गरिब तथा सिमान्तकृत समुदायको जीविकोपार्जन मजबुत बनाउने प्रमुख आधार मानिन्छ।
नेपालको संविधानले जैविक स्रोतको संरक्षण र दिगो उपयोगलाई राज्यको नीतिगत प्राथमिकतामा राखेको छ। साथै संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको जिम्मेवारीका रूपमा जैविक विविधता संरक्षणलाई स्पष्ट रूपमा उल्लेख गरिएको छ। नेपाल जैविक विविधता संरक्षणसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्र समेत हो।
हाल नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रबाट कृषि जैविक विविधताको पर–स्थानीय संरक्षण (एक्स–सिचु) तथा बाली प्रजननमा उपयोग गर्ने काम हुँदै आएको छ।
त्यसैगरी कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सचेतना अभिवृद्धि, क्षमता विकास, स्व–स्थानीय संरक्षण (इन–सिचु) मा सहयोग, रैथाने बाली प्रवर्द्धन तथा फार्म केन्द्रमार्फत फिल्ड जीन बैंक सञ्चालन गर्दै संरक्षणका गतिविधि अघि बढाइरहेको छ। बीउ विजन ऐन २०८१ ले रैथाने तथा स्थानीय जात दर्ता सहजीकरणका लागि विशेष व्यवस्था गरेको छ।
नेपाल जैविक विविधतामा धनी मुलुकमध्ये पर्दछ। विश्वका जैविक विविधतामा सम्पन्न राष्ट्रमध्ये नेपाल ४९औँ स्थानमा रहेको तथ्यांक छ। नेपालमा करिब २४ हजार जीवित प्रजाति रहेको अनुमान छ, जसमध्ये झण्डै एक तिहाइले कृषि क्षेत्रमा प्रत्यक्ष योगदान पुर्याउँछन्।
यति हुँदाहुँदै पनि जलवायु परिवर्तन, आधुनिक खेती प्रणालीका नकारात्मक असर र बजार केन्द्रित उत्पादन प्रणालीका कारण कृषि जैविक विविधता तीव्र रूपमा ह्रास हुँदै गएको सरोकारवालाको चिन्ता छ। अनुमान अनुसार नेपालका करिब ४० प्रतिशत कृषि आनुवंशिक स्रोत लोप भइसकेको हुन सक्ने अवस्था छ।
सामाजिक, धार्मिक तथा सांस्कृतिक परम्परासँग गहिरो रूपमा जोडिएको कृषि जैविक विविधता पर्व–उत्सव र परम्परामा समावेश भए पनि त्यसको महत्वलाई अपेक्षित रूपमा उजागर गर्न नसकिएको अवस्था छ।
यही सन्दर्भमा कृषि जैविक विविधताको महत्वबारे आम नागरिक र सरोकारवालालाई सचेत गराउँदै संरक्षण र दिगो उपयोगमा जोड दिन राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै आएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ भदौ २७ गतेको निर्णय अनुसार हरेक वर्ष माघ १ गते यो दिवस मनाइन्छ भने माघको पहिलो हप्ता कृषि जैविक विविधता सप्ताहका रूपमा कार्यक्रम आयोजना हुँदै आएको छ।
यस वर्षको राष्ट्रिय कृषि जैविक विविधता दिवसको मूल नारा ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता’ तय गरिएको छ।
कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलको अध्यक्षतामा बसेको बैठकले माघ पहिलो हप्ताभर जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले प्रदेश तथा स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्र र सञ्चार माध्यमलाई समेत सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।
दिवसका अवसरमा माघ १ गते काठमाडौंको भृकुटीमण्डपस्थित बगैचा परिसरमा राष्ट्रिय मूल समारोह आयोजना हुनेछ। सोही अवसरमा वृहत् रैथाने कृषि मेला, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ।
रैथाने बाली उत्पादन गर्ने कृषक, सामुदायिक बीउ बैंक, होमस्टे, पत्रकार तथा रैथाने मूल्य शृंखला विकासमा योगदान गर्ने संस्थालाई सम्मान गरिनेछ। कृषि जैविक विविधता संरक्षण र दिगो उपयोग विषयमा नेपाल टेलिभिजनबाट विशेष संवाद कार्यक्रम प्रसारण हुने तयारी छ।
देशका विभिन्न जिल्लामा रैथाने हाटबजार उद्घाटन, कन्दमूल विविधता प्रदर्शनी, मह महोत्सव, उत्कृष्ट कृषक पुरस्कार वितरण, रैथाने बालीका परिकार प्रदर्शनी तथा स्थानीयस्तरका मेला आयोजना गरिनेछन्। सुर्खेत, भोजपुर, बाँके, कास्की, सिन्धुली, कञ्चनपुर, लमजुङ लगायतका स्थानमा कृषि जैविक विविधतासम्बन्धी विशेष कार्यक्रम सञ्चालन हुनेछन्।
कृषि विभागका महानिर्देशक सन्जेलले कृषि आनुवंशिक स्रोत, कृषकका परम्परागत ज्ञान र रैथाने उत्पादनको संरक्षणमार्फत स्वस्थ जीवनशैली र दिगो वातावरण निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
उनले सातै प्रदेश, सबै स्थानीय तह, कृषक, सहकारी, संघसंस्था, सञ्चार माध्यम र सम्पूर्ण सरोकारवालालाई सप्ताहव्यापी कार्यक्रम भव्य रूपमा सफल बनाउन सक्रिय सहभागिताको आह्वान गरेका छन्।


प्रतिक्रिया दिनुहोस्