स्याङ्जाकाे भाग्योदय माविको स्वर्ण महोत्सव माघ १२ देखि १४ गतेसम्म आयोजना हुने


काठमाडाैँ । स्याङ्जाकाे भीरकोट नगरपालिका–६, उजेलीडाँडामा रहेको श्री भाग्योदय माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव आयोजना गर्ने भएको छ।

विद्यालयले ‘सहभागिता, समर्पण, सफलता र सद्भावको उत्सव-भाग्योदय स्वर्ण महोत्सव–२०८२’ भन्ने मूल नारासहित तीन दिनसम्म विविध कार्यक्रम गर्ने जनाएको छ।

विद्यालय परिसरमा आयोजना हुने स्वर्ण महोत्सव आउँदाे माघ १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ। पहिलो दिन माघ १२ गते बिहान ११ बजे स्वर्ण महोत्सवको औपचारिक उद्घाटन गरिनुका साथै स्वर्ण स्मारक अनावरण, स्मारिका विमोचन तथा शैक्षिक र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले जानकारी दिए।

महोत्सवको दोस्रो दिन माघ १३ गते विद्यार्थी छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ। सोही दिन शैक्षिक प्रदर्शनीसँगै विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुनेछन्। कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने जनाइएको छ।

त्यसैगरी तेस्रो तथा अन्तिम दिन माघ १४ गते विविध व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरण गरिनुका साथै समापन कार्यक्रम आयोजना गरिनेछ। विद्यालयका अनुसार समापन कार्यक्रम पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्यालय प्राङ्गणमै सम्पन्न हुनेछ।

विद्यालयले स्वर्ण महोत्सवलाई विद्यालयको शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको उल्लेख गर्दै अभिभावक, पूर्वविद्यार्थी, शिक्षाविद्, जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेकाे छ ।