काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूका लागि छुट्टै बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
निर्वाचन आयोगले अनुरोधमा नेपाल राष्ट्र बैंकले आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुको सिफारिसमा आमनिर्वाचन अभियान समूह (वा यस्तै मिल्दो अन्य कुनै) का नेपाली मुद्रा (रुपैयाँ पैसा) को आम्दानी खर्च कारोबार गर्नसक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) एवम् स्वतन्त्र उम्मेदवारहरुलाई छुट्टै एउटा (एक मात्र) बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउन सूचना जारी गरेको हो ।
क, ख र ग वर्गका बैंकहरूमा खाता खोली राजनीतिक दल र उम्मेद्वारहरूले कारोबार गर्न सक्नेछन् ।
बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशन, २०८२ अनुसार प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाइने भएपनि निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न नलगाउँदासम्म छुट प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्