काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले गरेका पहल र सुधार नेपालका लागि सफल मोडेलका रूपमा स्थापित भएको दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौँ–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न आफूले खेलेको भूमिकाले देशलाई नयाँ दिशातर्फ डोर्याएको बताएका हुन् ।
उनले मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै घर–घरमा रोजगारी सिर्जना गर्नु उज्यालो नेपाल पार्टीको प्रमुख प्रतिबद्धता रहेको स्पष्ट पारे।
अध्यक्ष घिसिङले मुलुक कृषि, खानेपानी र रोजगारीको क्षेत्रमा अझै परनिर्भर अवस्थामा रहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई मतदान गर्न आह्वान गरे। ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल भए पनि समग्र विकासका दृष्टिले अन्य क्षेत्र कमजोर अवस्थामा रहेको उनको भनाइ थियो।
देशको समग्र विकासका लागि स्पष्ट रोडम्यापसहित छिट्टै पार्टीको घोषणा पत्र सार्वजनिक गरिने जानकारी दिँदै उनले आर्थिक रूपमा आत्मनिर्भर नेपाल निर्माण गर्नु आफ्नो लक्ष्य रहेको बताए । हाल कृषि क्षेत्रमा अत्यधिक आयातमा निर्भर हुनुपरेको अवस्थालाई उल्लेख गर्दै उहाँले स्वदेशमै उत्पादन र रोजगारी विस्तार अपरिहार्य रहेको धारणा राखे ।
कार्यक्रममा अध्यक्ष घिसिङले यातायात, शिक्षा, स्वास्थ्य तथा विद्युतजस्ता आधारभूत सेवासमेत निःशुल्क उपलब्ध गराउने दीर्घकालीन भिजन आफूहरूसँग रहेको दाबी गरे। देशभित्रै रोजगारी सिर्जना गरी प्रत्येक नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित उज्यालो नेपाल पार्टी अघि बढेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्