काठमाडौँ। काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ।
यस कल्भर्ट निर्माणमा खर्च हुने अनुमानित लागत ५७ लाख ७२ हजार ६९४ रुपैयाँ रहेको छ, जबकि प्रारम्भिक लागत अनुमान ७० लाख ७२ हजार १८२ रुपैयाँ थियो। निर्माण कार्य आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता गरिएको छ।
बक्स कल्भर्ट सडकतर्फ ५ मिटर र पानी बहाव हुनेतर्फ १४ मिटरको हुनेछ। सार्वजनिक निर्माण विभागका सबइञ्जिनियर दीपकबहादुर शाहीले जानकारी दिए ।
उनले भने,”अहिले त्यहाँ पानीको निकासका लागि ह्युम पाइप राखिएको छ, जुन पुरानो भइसकेको छ। बर्खाको समयमा पानीको बहाव रोकिने समस्या देखिन्छ। डुवान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो।”
कल्भर्ट निर्माणको काम सुरू भए पछि सडकको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडेर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर गरिएको छ।
वैकल्पिक मार्गको रूपमा कमलादी मोडबाट बायाँ मोड्दै कमलादी गणेश मन्दिर र घण्टाघर जाने सडक प्रयोग गर्न सकिनेछ।
काम सुरु भए पछि उक्त सडक खण्ड करिब दुई महिनासम्म बन्द रहनेछ।
यसैगरी, धोवीखोला नदी खण्डमा पनि रोजबर्ड स्कूल नजिक बक्स कल्भर्ट निर्माण हुँदैछ। यस कल्भर्टको लागत २ करोड २१ लाख २३ हजार ८९९ रुपैयाँ राखिएको छ, जबकि प्रारम्भिक अनुमान ३ करोड ७१ लाख २३ हजार ९३५ रुपैयाँ थियो। निर्माण कार्य २०८३ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ।
कल्भर्टको लम्बाइ १७ मिटर र चौडाइ ७ मिटर हुनेछ। यो क्षेत्रमा रहेको पुरानो फलामे पुल २०८० सालको धोवीखोलाको बाढीमा क्षति भएको थियो।
वडा नं. ११ का अध्यक्ष हीराला तण्डुकारले भने, “पुल बनाउने भनेर विभिन्न निकाय आएका थिए, तर कसैले काम अघि बढाएन। त्यसपछि वडाले निर्माण योजना तयार पारेको थियो। महानगरपालिकाको केन्द्रीय बजेटबाट निर्माण सम्भव भएपछि अब निर्माण प्रक्रियामा लागिएको हो।”


प्रतिक्रिया दिनुहोस्