समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले रुकुम (पूर्व) नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उल्लेख गरे ।

पूर्वी रुकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्दै उनले चुनवाङ बैठकले महिला, जनजाति, मधेसी, थारु लगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताए ।

चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको उनको भनाइ छ । संयोजक दाहालले रुकुमपूर्वकै लवाङ बैठकमा पार्टीभित्र एतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गरे । हाल देश जेन—जी आन्दोलनपछि जटिल अवस्थामा रहेको उनको भनाइ छ ।

राष्ट्रलाई एकतावद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई दिने र देशभर समाजवाद निर्माणको नयाँ सन्देश प्रवाह गर्न रुकुम पूर्व उपयुक्त थलो भएको बताए । उनले सोही कारण आफू आगामी फागुन २१ गते हुने निर्वाचनको लागि रुकुम पूर्ववाट उम्मेद्वार बनेको उल्लेख गरे । रोल्पाबाट पहिले नै निर्वाचन लडिसकेकाले यसपटक रुकुमपूर्व रोजेको उनको भनाइ छ । 

उनले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गरी औपचारिक तथा कानुनी मान्यता दिएको उल्लेख गरे । यद्यपि त्यसको कार्यान्वयनका लागि विधेयक बने पनि पूर्ण रूपमा लागू हुन बाँकी रहेको बताए ।