भ्रष्टाचार मुद्दा दायरसँगै नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेल स्वतः निलम्बन


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा क्लिङ्कर हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपाल पुनर्बिमा कम्पनी लिमिटेडका अध्यक्ष रहेका सुरेन्द्र कुमार पौडेल स्वतः निलम्बनमा परेका छन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सार्वजनिक पदमा रहेकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनी स्वतः निलम्बनमा पर्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार पौडेल अध्यक्ष रहेको नेपाल पुनर्बिमा कम्पनीमा उनको पद स्वतः निलम्बनमा गएको हो।

अख्तियारले पौडेलविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनी उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रवन्धक रहेका बेला उद्योगमा ठूलो परिमाणमा क्लिङ्कर हिनामिना, हानीनोक्सानी तथा मास्ने कार्यमा संलग्न भएको आयोगको ठहर छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ सालको पौष मसान्तसम्म क्लिङ्करको मौज्दात अभिलेख र भौतिक परीक्षण प्रतिवेदनबीच ठूलो अन्तर देखिएको थियो। विभिन्न चरणको छानबिन, महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुसन्धानबाट कुल ३८,७६९ मेट्रिक टन क्लिङ्कर हिनामिना भएको पुष्टि भएको आयोगले जनाएको छ।

उक्त परिमाणको क्लिङ्करको लागत मूल्य ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ २६ पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुगेको अख्तियारको निष्कर्ष छ।

आयोगले पौडेलसहित तत्कालीन निमित्त महाप्रवन्धक नवल किशोर साह, नायव महाप्रवन्धक महेश प्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी र बिक्री विभाग प्रमुख राम बहादुर जी.सी. विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कसुर ठहर गर्दै कैद, जरिवाना तथा बिगो असुलको मागदाबी लिएको छ।

अख्तियारका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा बदनियत राखी राष्ट्रसेवक पदको दुरुपयोग गर्दै सार्वजनिक सम्पत्तिमा गम्भीर क्षति पुर्‍याएको देखिएको छ। सोही आधारमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।