सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौँ महानगरको निर्देशन


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर–कोठा खाली गराउने सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ।

महानगरपालिकाको न्यायिक समितिबाट घर–कोठा खाली गर्ने भनी भएका निर्णयहरूमध्ये सहकारी सङ्घ–संस्थाले बहालमा लिएका घर–कोठासम्बन्धी विषयमा गत माघ १५ गते बसेको निर्णय कार्यान्वयन समितिको बैठकले निर्णय गरेअनुसार उक्त सूचना प्रकाशन गरिएको हो।

सूचनाअनुसार तपसिलमा उल्लेख गरिएका सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा संस्थाका सदस्यहरूले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र काठमाडौँ महानगरपालिका अन्तर्गत कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्नुपर्नेछ।

तोकिएको समयसीमाभित्र सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार सहकारी संस्थाले बहालमा लिएका घर–कोठा खाली गराइने महानगरपालिकाले जनाएको छ। घर–कोठा खाली गराउने क्रममा सहकारी कार्यालयमा रहेका सामानहरू सम्बन्धित घरधनीको जिम्मामा दिइनेछ।

त्यसपछि सहकारी संस्थाका सम्पत्ति वा सरसामानका विषयमा कुनै दाबी–विरोध गर्न नपाइने व्यहोरा समेत सूचनामार्फत स्पष्ट गरिएको छ।

सूचनामा आशा बचत तथा ऋण सहकारी संस्था, नव सवल सहकारी (सन्दुप सहकारी), युनिफाइड बचत तथा ऋण सहकारी संस्था, महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, प्रारम्भिक बचत तथा ऋण सहकारी तथा ग्रेट गंगासागर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलगायत सहकारी संस्थाले बहालमा लिएका घर–कोठा खाली गर्न न्यायिक समितिबाट निर्णय भइसकेको उल्लेख छ।

काठमाडौँ महानगरपालिकाले सहकारी संस्थासँग सम्बन्धित विवाद समाधान र न्यायिक समितिका निर्णय कार्यान्वयनलाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको जनाएको छ।