काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा (एमाले)की सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बीमामा देखिएका समस्याबारे सरकारसँग स्पष्ट जानकारी माग गरेकी छन्।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सर्वसाधारण मर्कामा परेको बताएकी हुन् ।
सांसद दाहालले अस्पतालहरूले बजेट अभावको कारण देखाउँदै स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिरहेको खबरहरू सार्वजनिक भइरहेकामा सरकारको ध्यानाकर्षण गराइन्।
सर्वसाधारणका लागि अत्यन्त राहतदायी रहेको यस कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारले ढिलाइ गर्न नहुने उनको भनाइ थियो।
“स्वास्थ्य बिमा सर्वसाधारणले प्रत्यक्ष रूपमा उपयोग गरिरहेको कार्यक्रम हो। तर सरकारले बजेट नदिएको कारण अस्पतालहरूले सेवा बन्द गर्नुपरेको भन्ने समाचारहरू आइरहेका छन्। यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूले चासो लिनुभएको भन्ने पनि सुनिएको छ। यसको व्यवस्थापनका लागि के भइरहेको छ भन्नेबारे संसदलाई जानकारी गराइयोस्,” उनले भनिन् ।
उनले जनसरोकारसँग जोडिएका यस्ता महत्वपूर्ण विषयमा सरकारले तत्काल निर्णय गरी समस्या समाधानतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याइन्। यसअघि प्रधानमन्त्री सुशीला कार्कीले पनि स्वास्थ्य बीमा कार्यक्रमप्रति चासो व्यक्त गर्दै आवश्यक स्रोतसाधनको व्यवस्था गरिने प्रतिबद्धता जनाइन् ।


प्रतिक्रिया दिनुहोस्