मुलुकमा कुनैपनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैनः गृहमन्त्री अर्याल


काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकमा कुनैपनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य नहुने स्पष्ट गरेका छन् । आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यो कुरा औँल्याएका हुन् ।

उनले व्यवसाय, उद्योग र लगानीको सुरक्षा गर्नु राज्यको प्राथमिक जिम्मेवारी रहेको उल्लेख गर्दै, त्यस जिम्मेवारीलाई पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे। गृहमन्त्री अर्यालले जे–एन–जी आन्दोलनपछि पनि निजी क्षेत्रले प्रतिकूल परिस्थितिमा उच्च हौसला राख्दै काम गरिरहेको उल्लेख गर्दै, त्यसले मुलुकको अर्थतन्त्रलाई पुनः गतिशील बनाउँदै गएको बताए ।

उनले भने “व्यवसाय, उद्योग र लगानीको सुरक्षा राज्यको प्राथमिक जिम्मेवारी हो। कुनैपनि नाममा हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैन। जेनजी आन्दोलनको अध्ययनबाट उठाइएका निष्कर्षहरु केवल आलोचना मात्र होइन, सुधारको स्पष्ट रोडम्याप पनि हो। राज्य र निजी क्षेत्रबीच विश्वासको पुल पुनर्निर्माण नगरी आर्थिक पुनर्उत्थान सम्भव छैन। प्रतिकुल परिस्थिति बाबजुत निजी क्षेत्रले उच्च हौसला कायम राखेको कारण देशको अर्थतन्त्र पुनः गतिशील बन्दै गएको छ।”

गृहमन्त्री अर्यालले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकारले आवश्यक पहलहरू अगाडि बढाइरहेको दाबी पनि गरे ।