एक वर्षका लागि रातो बाँदर कृषि हानिकारक वन्यजन्तु घोषणा, किसानले बिना अनुमति धपाउन र पक्रन पाउने


काठमाडौँ । वन तथा वातावरण मन्त्रालय ले जङ्गली रातो बाँदर (म्याकाका मुलाटा) लाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ।

मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्णय गरेको हो।

राजपत्रको भाग ५ मा विहिबार प्रकाशित सूचनाअनुसार नेपाल राज्यभित्रका निजी खेत, खला तथा बारीमा आउने जङ्गली रातो बाँदरले बालीनाली तथा धनजनमा क्षति पुर्‍याउने अवस्था देखिएकाले यस्तो घोषणा गरिएको जनाइएको छ।

सूचनामा प्रकाशन भएको मितिबाट एक वर्षसम्मका लागि किसानलाई निश्चित सर्तको अधीनमा रही बिना अनुज्ञापत्र बाँदर धपाउन, लखेट्न वा पक्रन पाउने व्यवस्था गरिएको छ।

सूचनाअनुसार जङ्गली रातो बाँदरले किसानको खेतबारीमा क्षति पुर्‍याएमा किसान एक्लै वा सामूहिक रूपमा बाँदर धपाउन, लखेट्न वा पक्रन सक्नेछन्।

पक्रिएको अवस्थामा भने सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्र कार्यालय, डिभिजन वन कार्यालय वा मातहतको नजिकको कार्यालयमा बुझाउनुपर्नेछ। यसबारे सम्बन्धित स्थानीय तहको वडा कार्यालयलाई समेत जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ।

धपाउने, लखेट्ने वा पक्रने क्रममा बाँदरको मृत्यु भएमा सम्बन्धित वडाका एक जना प्रतिनिधिसहित कम्तीमा पाँच जना स्थानीयको रोहवरमा मुचुल्का खडा गरी गाड्नुपर्ने उल्लेख छ। साथै, त्यसको जानकारी सम्बन्धित निकाय र वडा कार्यालयलाई दिनुपर्नेछ।

मारिएका बाँदरको विवरण सम्बन्धित निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा डिभिजन वन कार्यालयले प्रत्येक दुई महिनामा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा सम्बन्धित प्रदेश सरकारको मन्त्रालय र प्रदेश वन निर्देशनालयमा पठाउनुपर्नेछ।

तर राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा भने जङ्गली रातो बाँदर धपाउन, लखेट्न वा पक्रन नपाइने स्पष्ट गरिएको छ।