राष्ट्रिय सभा सदस्य शाक्यको आग्रह: चुनावको मुख्य एजेण्डा जलवायु परिवर्तन बनोस्


काठमाडाैँ । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य ले आगामी निर्वाचनमा राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा जलवायु परिवर्तन लाई मुख्य एजेण्डा बनाउनु पर्नेमा जोड दिएकी छन्।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले अबका घोषणापत्रहरूमा केवल शिक्षा, स्वास्थ्य र पूर्वाधारका पुरानै शैलीका विषयले पुग्ने अवस्था नभएको बताएकी हुन् ।

शाक्यले भनिन्, “अबको मुख्य एजेण्डा जलवायु परिवर्तन हुनुपर्दछ। वैज्ञानिक तथ्याङ्कले पुष्टि गरिसकेको छ कि अत्यधिक हरितगृह ग्यास उत्सर्जनले पृथ्वी तातिरहेको छ। विश्वको तुलनामा नेपालको उत्सर्जन न्यून (०.०५६ प्रतिशत) भए पनि यसको गम्भीर प्रभावमा हामी अग्रपंक्तिमा छौं। सुदूरपश्चिम र कर्णालीका गाउँमा पानीका मुहान सुकिरहेका छन्, मधेशमा खडेरी र डुबानले किसानको ढाड सेकेको छ, पहाडी र हिमाली क्षेत्रका बस्ती विस्थापित भइरहेका छन्।”

उनले जल तथा मौसम विज्ञान विभागका तथ्याङ्क उद्धृत गर्दै नेपालको औसत अधिकतम तापक्रम विगत चार दशकमा २.४ डिग्री सेल्सियसले बढेको छ र हिमनदी पग्लिने दर ६५ प्रतिशतले वृद्धि भएको बताइन्। साथै, क्लाइमेट एनालिटिक्स को अध्ययनअनुसार यदि यही अवस्था रह्यो भने सन् २०५० सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १८ प्रतिशतले घट्न सक्ने चेतावनी दिइएको छ।

शाक्यले भदौ महिनामा भएका अराजक घटनाहरूले देशको लगानी वातावरण धमिलो भएको र अर्थतन्त्र जोखिमपूर्ण मोडमा पुगेकोमा चिन्ता व्यक्त गरिन् । उनले भनिन्, “सरकारी सेवाग्राही संस्था ध्वस्त हुँदा नागरिकले सास्ती पाएका छन्। जब अराजकता र उद्योगीमाथि आक्रमण हुन्छ, लगानीको वातावरण प्रभावित हुन्छ। विदेशी र स्वदेशी लगानीकर्ताहरू पनि लगानी गर्न हिचकिचाउँछन्।”

समस्याको समाधानका लागि शाक्यले ऊर्जा रुपान्तरण र औद्योगिक सुधारको प्रस्ताव अघि सारिन्। उनको सुझाव अनुसार स्वदेशी जलविद्युतको प्रयोग गरी विद्युतीय सवारी साधन, मेट्रो, साइकल लेन र विद्युतीय भान्सालाई व्यापक बनाइनु पर्नेछ। साथै, सिमेन्ट कारखाना र इँटाभट्टामा कोइलाको सट्टा स्वदेशी विद्युत प्रयोग गर्ने नीति कडाइका साथ लागू गर्नुपर्ने उनको माग छ।