काडमाडाैँ । आगामी २०८२ प्रतिनिधि सभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टी (उनेपा)ले आज सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। पार्टीले किसानको आय वृद्धि, उत्पादन लागत घटाउने र बजार सुनिश्चित गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ।
पार्टीले किसानलाई दिइने अनुदानलाई व्यवस्थित र पारदर्शी बनाउन डिजिटल किसान परिचयपत्र (डिजिटल आईडी) मार्फत वितरण गर्ने व्यवस्था गर्ने उल्लेख गरेको छ। सिंचाइ, मल, बीऊ तथा कृषि बिमाका लागि उपलब्ध गराइने अनुदान सिधै किसानको बैंक खातामा पठाइने व्यवस्था गरिने जनाइएको छ।
अर्गानिक कृषि प्रवर्द्धनलाई प्राथमिकता दिँदै आगामी पाँच वर्षभित्र देशको ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक कृषि क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको छ। जैविक उत्पादनको बजारीकरण सुनिश्चित गरिने तथा कृषि उपजलाई लागत मूल्यभन्दा २० प्रतिशत थप गरी खरिद गर्ने व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरिएको छ।
युवा किसानलाई प्रोत्साहन गर्न ‘कृषि सहकारी स्टार्टअप फन्ड’ सञ्चालन गरिने र युवा किसान समूहलाई पाँच वर्षका लागि अधिकतम २५ लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराइने उल्लेख गरिएको छ।
कृषि सिंचाइका लागि प्रयोग हुने विद्युत निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिने पनि पार्टीले जनाएको छ। त्यस्तै, व्यवसायिक कृषि गर्ने किसानका लागि माछापालन, कुखुरापालन, बाख्रापालन, च्याउ उत्पादन, चिया खेतीलगायतका क्षेत्रमा सहुलियतपूर्ण विद्युत महसुलको व्यवस्था गरिने प्रतिबद्धता सार्वजनिक गरिएको छ।


प्रतिक्रिया दिनुहोस्