स्याङ्जा–२ मा मल्लको सङ्कल्पपत्र: सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता


काठमाडाैँ । नेपाली कांग्रेसकाे तर्फबाट स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भागवत प्रकाश मल्लले आफ्नाे सङ्कल्पपत्र सार्वजनिक गरेका छन्। उनले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, स्थानीय उद्यमशीलता तथा सुशासनलाई प्राथमिकतामा राख्दै समग्र जिल्लालाई नमुना क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

सङ्कल्पपत्रमा सीमान्तकृत किसानले उत्पादन गरेका कृषि उपजको प्रभावकारी वितरण प्रणाली निर्माण गरिने उल्लेख छ। किसानले आफ्ना उत्पादन सहज रूपमा बिक्री गर्न सक्ने व्यवस्था, वस्तु तथा सेवा विनिमय प्रणालीको विकास र न्यूनतम समर्थन मूल्य निर्धारणका लागि नीतिगत पहल गरिने उनले बताएका छन्।

बाँदरबाट बाली नोक्सानी रोक्न दीर्घकालीन ‘बाँदर नियन्त्रण गुरुयोजना’ ल्याइने, कृषि बिमा, सहुलियत ऋण र एकीकृत कृषि प्रणाली लागू गरी क्षेत्रलाई आत्मनिर्भर तथा निर्यातमुखी कृषि हब बनाइने लक्ष्य पनि अघि सारिएको छ।

कला, संस्कृति र सम्पदाको संरक्षणतर्फ ऐतिहासिक कोट, किल्ला, गढी, गुफा, मन्दिर, गुम्बा, मस्जिदलगायत सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि नीतिगत तथा संस्थागत पहल गरिने जनाइएको छ।

विभिन्न जातजाति र समुदायका रीतिरिवाज, लोकसंस्कृति, लोकनाच, लोकगीत र मौलिक खानाको जगेर्ना तथा व्यवसायीकरणमा प्रदेश र स्थानीय तहसँग सहकार्य गरिने उल्लेख छ। पुरातात्त्विक महत्वका पाटी–पौवा, कुवा, पोखरी, चौतारीलगायत संरचनाको संरक्षण र पुनर्निर्माणलाई प्राथमिकता दिइनेछ।

पर्यटन विकासतर्फ स्याङ्जाको स्वरेक मैदानालाई अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। मन्साङकोट र खिलुङ कालिकालाई तालिम केन्द्रका रूपमा स्तरोन्नति गरी साहसिक पर्यटन गन्तव्य बनाइने प्रतिबद्धता जनाइएको छ।

प्रत्येक तीनदेखि पाँच वर्षमा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्ने र उक्त क्षेत्रलाई राष्ट्रिय गौरवको पर्यटकीय सूचीमा समावेश गराउन पहल गर्ने उल्लेख छ।

साथै जिल्लाभित्रका धार्मिक तथा सांस्कृतिक स्थलहरूको अध्ययन–अनुसन्धान केन्द्र स्थापना, होमस्टे प्रवर्द्धन, नयाँ पदमार्गको पहिचान, मिलेनियम ट्रेक प्रवर्द्धन तथा साहसिक खेल पूर्वाधार विकासमा जोड दिइएको छ।

पूर्वाधारतर्फ स्याङ्जाको जीवनरेखा मानिएको सिद्दार्थ राजमार्ग (बुटवल–पोखरा सडक) लाई समर्पित दुई लेनको सडकका रूपमा स्तरोन्नति गर्न पहल गरिने जनाइएको छ। आँधीखोला बहुउद्देश्यीय जलाशययुक्त विद्युत् परियोजनालाई प्राथमिकता, ग्रामीण सडक कालोपत्रे, प्रत्येक वडामा खानेपानी, खेलमैदान र कभर्डहल निर्माण गर्ने योजना पनि समावेश छन्।

शिक्षातर्फ जीवनोपयोगी र संस्कारयुक्त शिक्षामा जोड दिँदै स्थानीय पाठ्यक्रममार्फत नैतिक शिक्षा अनिवार्य गरिने उल्लेख छ। प्राविधिक शिक्षालाई उद्योगसँग जोड्दै सीपमूलक तालिम विस्तार गरिने तथा निजी–सरकारी विद्यालय साझेदारी नीति अवलम्बनका लागि पहल गरिने जनाइएको छ। कलेज तहमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्न प्रयास गरिनेछ।

स्वास्थ्य सेवातर्फ प्रत्येक वडामा विशेषज्ञसहितको प्राथमिक स्वास्थ्य क्लिनिक स्थापना, अनिवार्य स्वास्थ्य बीमा कार्यान्वयन, प्रादेशिक तथा स्थानीय अस्पतालमा शैया, उपकरण र जनशक्ति थप तथा आयुर्वेद र प्राकृतिक चिकित्सा प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ। महामारी नियन्त्रणका लागि पूर्वतयारी र आपतकालीन उद्धार प्रणाली सुदृढ गरिने उल्लेख छ।

स्थानीय उद्यमशीलता प्रवर्धनका लागि जिल्लावासीको स्वामित्वमा सार्वजनिक कम्पनी स्थापना गरी कृषि, वन र पर्यटनमा आधारित एकीकृत उद्यम परियोजना सञ्चालन गर्ने लक्ष्य राखिएको छ। ‘एक गाउँ एक उत्पादन’ कार्यक्रममार्फत कृषि स्रोत केन्द्र स्थापना, बजार व्यवस्थापन र मूल्य शृङ्खला विकास गरिने जनाइएको छ।

सङ्कल्पपत्रमा लोकतान्त्रिक मूल्य, सुशासन र आर्थिक समृद्धिप्रति प्रतिबद्धता व्यक्त गर्दै संसदमा पहिलो आवाज युवाहरूले उठाएका सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दाका पक्षमा रहने उल्लेख गरिएको छ। राष्ट्रिय स्वाधीनता, आर्थिक विकास र प्रशासनिक सुधारका लागि विधायिकाबाट सक्रिय भूमिका निर्वाह गर्ने उम्मेदवार मल्लको प्रतिबद्धता छ।