काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डि एरिस फुड इण्डष्ट्रिज, ललितपुर १२ मा निरीक्षण अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्न निर्देशन दिएको छ।
हेलो सरकार मार्फत प्राप्त उजुरीका आधारमा गत माघ २८ गते गरिएको निरीक्षणमा उद्योग परिसरको सरसफाई सामान्य भए पनि कामदारहरूले हेयरनेट, ग्लोभ्स र मास्क नलगाई मिठाई उत्पादन गरेको पाइएको छ।
उजुरीमा उल्लेख गुँदपाकको व्याच स्टकमा नभेटिए पनि, उत्पादकले गुँदपाक खुवा, चिनी, ग्लुकोज, नरिवल, काजु तथा बदामको मिश्रणबाट उत्पादन भइरहेको जानकारी दिएका छन्।
अनुगमनमा पेस्ट कन्ट्रोलका लागि पर्याप्त व्यवस्था नभएको पनि देखिएको छ। विभागले उद्योगलाई नियमित सरसफाई, कामदारको व्यक्तिगत सरसफाई र पेस्ट कन्ट्रोलमा ध्यान दिन तथा खाद्य स्वच्छता र गुणस्तर कायम राख्न निर्देशन दिएको छ। साथै, गुँदपाक र मिठाईमा लेबलमा उल्लेख नभएका न्यूनस्तरका कच्चा पदार्थ प्रयोग नगर्न चेतावनी दिएको छ।
उत्पादकले अनिवार्य गुणस्तर मापदण्ड (नेपाल राजपत्र भाग ५, खण्ड ७०, संख्या २२) अनुसार उत्पादनको लेबलमा कच्चा पदार्थ, उत्पादन मिति र उपभोग्य मिति उल्लेख गरी भण्डारण र बिक्री वितरण गर्ने सुनिश्चित गर्नुपर्नेछ।
विभागले उजुरीमा उल्लेख व्याच नम्बरको गुँदपाक नभएकोले माघ २५ मा बनेको वाइडि-६ व्याचको नमुना प्रयोगशालामा परिक्षणका लागि सङ्कलन गरेको छ।


प्रतिक्रिया दिनुहोस्