काठमाडाैँ । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार भरतराज ढकालले कृषि, रोजगारी, उद्यमशीलता र पर्यटनलाई केन्द्रमा राख्दै समुन्नत स्याङ्जा निर्माणको घाेषणापत्र सार्वजनिक गरेका छन्।
राष्ट्रियता, लोकतन्त्र र समाजवादको संरक्षण गर्दै ‘समुन्नत स्याङ्जा सहित समृद्ध नेपाल’ निर्माण आफ्नो साझा अभियान भएको उनले उल्लेख गरेका छन्।
घोषणापत्रमा कृषि क्षेत्रलाई मुख्य आधार बनाइएको छ। किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारणमा किसानकै भूमिका सुनिश्चित गर्ने, आधुनिक प्रविधि, सिँचाइ, उन्नत बीउ, कृषि बिमा र सुनिश्चित बजारको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ।
सहकारी, बैङ्क तथा निजी क्षेत्रसँग सहकार्य गर्दै कृषिमा आधारित उद्योग स्थापना गरिने र सुन्तला तथा कफीको व्यावसायिक विकासमार्फत स्याङ्जालाई कफी तथा फलफूलको हबका रूपमा विकास गरिने लक्ष्य राखिएको छ। स्याङ्जालाई कृषि–उद्यमशीलताको नमूना जिल्ला बनाउने उनको योजना छ।
रोजगारीतर्फ ‘एक घर, एक रोजगारी’ कार्यक्रम कार्यान्वयनमा ल्याइने उल्लेख छ। स्थानीय तहमा रोजगार सृजना केन्द्र स्थापना, कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रमा स्थायी रोजगारी सिर्जना तथा अत्याधुनिक सीप विकासमार्फत निजी क्षेत्रसँग सहकार्य गरिने जनाइएको छ। युवा मात्र नभई सबै उमेर समूहलाई उद्यमशीलतामा जोड्ने, स्टार्टअपका लागि सहुलियत ऋण, अनुदान र कर छुटको व्यवस्था गर्ने प्रतिबद्धता पनि गरिएको छ।
पर्यटन क्षेत्रको सम्भावनालाई समृद्धिसँग जोड्ने योजनाअनुसार ग्रामीण पर्यटन (होमस्टे), धार्मिक तथा प्राकृतिक गन्तव्यको विकास गरिनेछ। स्थानीय उत्पादन, संस्कृति र रोजगारीसँग पर्यटनलाई आबद्ध गर्दै स्याङ्जालाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने लक्ष्य लिइएको छ।
समावेशी विकासतर्फ महिलाको आर्थिक सशक्तीकरण, गरिबी न्यूनीकरण, दलित तथा सीमान्तकृत समुदायलाई उद्यममा प्राथमिकता, श्रमिकको सम्मान र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ।
शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा गुणस्तरीय तथा सीपमूलक डिजिटल शिक्षा, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा तथा सडक, खानेपानी र सुरक्षित बस्ती निर्माणलाई जोड दिइएको छ।
ढकालले आफूलाई इमानदार नेतृत्व, स्पष्ट भिजन र कार्यान्वयन क्षमतासहित प्रस्तुत गरेका छन्। जनताको आवश्यकता केन्द्रमा राखेर विकास गरिने उनको प्रतिबद्धता छ।
आँधीखोला गाउँपालिका–६, निबुवाबोटमा जन्मिएका ढकाल माध्यमिक शिक्षा सेतीदोभान, स्याङ्जाबाट पूरा गरी स्नातकोत्तर (एमबीए)सम्म अध्ययन गरेका छन्।
२०४७ सालदेखि विद्यार्थी राजनीति हुँदै नेपाल विद्यार्थी संघ मा आबद्ध भएका उनी २०५३ सालदेखि नेपाली काँग्रेस का क्रियाशील सदस्य हुन्। २०४६/०४७ तथा २०६२/०६३ का जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उनले पार्टीको वित्तीय तथा सहकारी विभागमा समेत जिम्मेवारी सम्हालेका छन्।
सामाजिक क्षेत्रमा उनी श्री भगवती माध्यमिक विद्यालय, सहारा बालगृह, जिल्ला बाल कल्याण समिति लगायत संस्थामा नेतृत्वदायी भूमिकामा रहिसकेका छन्। साथै नेपाल पत्रकार महासंघ स्याङ्जाका संस्थापकका रूपमा पनि परिचित छन्।
व्यावसायिक रूपमा उनले मुक्तिनाथ विकास बैंक का संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा निवर्तमान अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। त्यस्तै डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालका पूर्व अध्यक्ष, मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।
ढकालले कृषि, वित्तीय तथा सहकारी क्षेत्रमार्फत स्याङ्जा सहित देशका विभिन्न दूरदराज क्षेत्रमा आर्थिक तथा सामाजिक उन्नतिका नमूना कार्यक्रम कार्यान्वयन गरेको दाबी गरेका छन्। सुन्तला, कफी लगायत अर्गानिक कृषि उपजको उत्पादन वृद्धि, कृषि औद्योगिक ग्राम स्थापना तथा निर्यात प्रवर्द्धनमार्फत रोजगारी र स्वरोजगारी सिर्जना गर्ने उनको मुख्य सङ्कल्प छ। उनले स्याङ्जाको आर्थिक–सामाजिक रूपान्तरणका लागि रुख चिन्हमा मतदान गर्न अपिलसमेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्