काठमाडाैँ । सरकारले जंगली बँदेललाई फेरि एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तुको सूचीमा राखेको छ।
सोमबार वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै कृषकलाई बँदेल पक्रन र लखेट्न सजिलो बनाउने निर्णय गरेको हो।
सूचनाअनुसार जंगली बँदेलले निजी खेत, खल, बारीमा आएर खेतीबाली वा सम्पत्तिमा क्षति पुर्याएमा तोकिएको सर्तअनुसार बिना अनुमति पनि किसानले बँदेल धपाउन, लखेट्न, पक्रन वा मार्न सक्नेछन्। यद्यपि, सानो जातको बँदेल यसमा समावेश हुने छैन।
बँदेल पक्रिएमा सम्बन्धित राष्ट्रिय निकुञ्ज, शिकार आरक्ष, वन्यजन्तु आरक्ष वा स्थानीय वन कार्यालयमा बुझाउनु पर्ने छ। यदि बँदेलको मृत्यु भयो भने वडाका प्रतिनिधि र पाँच स्थानीयवासीको रोहवरमा मुचुल्का बनाई गाड्न सकिने व्यवस्था गरिएको छ।
साथै, तौलको आधारमा मूल्य तोकी उक्त रकम राजस्व खातामा जम्मा गरी वडाभित्र व्यावसायिक उद्देश्य बाहेक प्रयोग गर्न सकिने निर्णय गरिएको छ।
निकुञ्ज, आरक्षण वा अन्य संरक्षित वन क्षेत्रमा बँदेल मार्ने वा पक्रने अनुमति भने नभएकाे मन्त्रालयले जनाएकाे छ। यसअघि सरकारले रातो बाँदरलाई पनि कृषि हानिकारक वन्यजन्तुको सूचीमा राखिसकेको थियो।


प्रतिक्रिया दिनुहोस्