दशैँ–तिहारमा मात्रै होइन, खाद्य बजार अनुगमन अब नियमित हुन्छः महानिर्देशक वैद्य


काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता जोशी वैद्यले विभागको बजार तथा उद्योग अनुगमन अब नियमित रूपमा सञ्चालन भइरहेको बताएकी छन् ।

बिहीवार विभागमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले अनुगमन तथा निरीक्षण दशैँ–तिहार जस्ता चाडपर्व वा कुनै विशेष घटनामा मात्र सीमित नरहने स्पष्ट पारेकी हुन्। समय र आवश्यकताअनुसार बजार अनुगमन गरिँदै आएको उनको भनाइ छ।

उनका अनुसार यसअघि विभागको मुख्य ध्यान आयातित खाद्य सामग्रीमा केन्द्रित थियो। तर पछिल्लो समय दुध, पानी तथा विभिन्न खाद्य उत्पादनहरूमा निगरानी बढाइएको छ। होटल तथा रेस्टुरेन्टहरूको निरीक्षणलाई पनि प्राथमिकतामा राखेर अनुगमन अघि बढाइएको उनले जानकारी दिइन् ।

महानिर्देशक वैद्यले विभागले मौलिक तथा परम्परागत खाद्य उत्पादनहरूको स्तर निर्धारणलाई पनि विशेष महत्व दिएको बताइन्। परम्परागत खाद्य पदार्थहरूको व्यवसायिक उत्पादन बढ्दै गएकाले तिनको मापदण्ड तय गर्नु आवश्यक रहेको उनको भनाइ छ। यस्ता उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न समेत स्पष्ट मापदण्ड आवश्यक पर्ने उनले उल्लेख गरिन्।

उनले गुन्द्रुक र मस्यौरा जस्ता परम्परागत खाद्य पदार्थहरूको मापदण्ड निर्धारण भइसकेको जानकारी दिँदै बाँकी उत्पादनहरूको पनि चरणबद्ध रूपमा मापदण्ड तय गरिँदै जाने बताइन् ।

उनले जिल्लास्थित विभिन्न डिभिजन कार्यालयहरूले संयुक्त वा एकल रूपमा उद्योग तथा बजार अनुगमन गरिरहेको जानकारी पनि दिइन्। अनुगमनका क्रममा उद्योग भ्रमण, बजार निरीक्षण, गुणस्तरहीन सामग्री जफत तथा नष्ट गर्ने, रिकल गर्ने जस्ता कार्यहरू नियमित रूपमा भइरहेको उनले बताइन् ।

महानिर्देशक वैद्यले अनुगमनलाई निरन्तर र प्रभावकारी बनाउँदै उपभोक्ता हित संरक्षणमा विभाग प्रतिबद्ध रहेको स्पष्ट पारिन्।